एक शिक्षकको पीडा
तिलक खनाल
यो लेख एक इमान्दार राष्ट्रसेवकले आर्जेको दूखको अंश हो । म पेसाले शिक्षक हुँ । जीवनका सुन्दर ३७ वर्ष खुशी र उत्साहले यो पेसामा विताएँ । अहिले पनि म यही पेसामा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, अत्तरिया कैलालीमा अध्यापन गराउँदै आएको छु । यी मेरा पेसागत जीवनको अन्त्यतिरका दिनहरु हुन । सेवा प्रवेश गर्दा मेरो मानसपटमा जुन आशा र उत्साह थियो अहिलेका दिनमा मसँग त्यो खास धेरै छैन । बरु त्यसको बदला निराशा र उपेक्षाबोधका केही धर्साहरु छन् । इमान्दार र कर्मप्रति समर्पण राख्नेहरुका लागि पेसागत जीवनमा अघिअघि खुशीको आकास र पछीपछी दूखको नदी सँगै हुँदोरहेछ भन्ने कुरा म अवकास पाइने दिन नजिकिदा महसुस गर्दैछु ।
शिक्षण पेसा समाज सुधारको अभिन्न अङ्ग र प्रकारान्तले मर्यादित पेशा सम्झेर २०४० सालमा यो पेसामा प्रवेश गरेको थिएँ । २०४५ भाद्रसम्म अस्थायी रुपमा र २०४५ असोज देखि स्थायी शिक्षक भई हालसम्म पनि निरन्तर रुपमा सेवा गरेको आज ३७ वर्ष पुरा भएको छ । यति लामो समय देश र समाजका लागि सेवा गर्न पाएको तथ्य सम्झिदा खुशी र पेसाप्रति गर्व गर्व महसुस हुन्छ । हजारौं हजार विद्यार्थीहरुमा थोरै थोरै भए पनि ज्ञानको बीज रोप्न पाएकोमा अझ बढि मुग्ध पनि छु । तर अवकास पाउने दिन नजिकिदै गर्दा मैले आफ्ना लागि आर्जेको या राज्यले मुल्यांकन गरि दिएको सम्मान सम्झदा मेरो हृदयमा उस्तै निराशा पैदा हुन्छ ।
भन्ने गरिन्छ, शिक्षा ज्ञानको मूल स्रोत हो । शिक्षण पेसा सम्मानित, मर्यादित र विवेकी हो भन्ने स्वीकारोक्ती सर्वविदितै छ । राज्यले शिक्षा सबैका लागि अपरिहार्य भनिरहेको छ तर राज्य आफैले यो पेशालाई मर्यादित बनाउन सकेको छैन । शिक्षा सञ्चालन र विकासका सबैभन्दा महत्वपूर्ण खम्बा मानिने शिक्षकहरु उपेक्षित र पीडित छन् । हुन त समाजका जुनसुकै क्षेत्र विकासको पहिलो आधारशिला शिक्षा नै हो र त्यसका शिलान्यासकर्ता शिक्षक हुन् । वर्तमानका सबै प्रकारका वालवालिकालाई ज्ञान, सीप र कलाले भविष्यका योज्ञ र दक्ष कर्णाधार बनाउने पनि शिक्षक नै हुन् ।
शिक्षकहरुले पढाएका विद्यार्थीहरु नै शासकिय निकाय, प्रशासनिक संयन्त्र, सुरक्षा निकाय, प्रविधिक क्षेत्र, राजनीतिक क्षेत्र, योजना आयोग लगायतका उच्च पदमा आसिन छन् । दूखको कुरा, अधिकाँश तिनै व्यक्तिहरु शिक्षकहरुको मान मर्दन गर्न, होच्याउन, कुण्ठित गर्न र सुविधा विहिन गर्न अग्रसर छन् । निजामति सेवाको तुलनामा निकै तल्लो स्तरको पेसाको रुपमा शिक्षण पेसालाई मान्दछन उनीहरु । तिनै उच्च पदमा आसिन व्यक्तिहरु नै शिक्षकको पेसागत हक, पदोन्नती, नीति निर्माण र शैक्षिक व्यवस्थापन आदिका बाधक बनेर हेपाहा शैलीमा शिक्षकहरुका सीमा कोरिदिन्छन् । एउटा शिक्षकले आफ्नो शिक्षण कालमा जेजति सुविधा, बृत्तिबिकास र पदोन्नति हुनुपर्ने हो, त्यसमा नातावाद, कृपावाद र पुँजिवाद लागु हुन्छ । सोझा इमान्दार र वर्षौंदेखि पेसामा तल्लिन शिक्षकले पाउनुपर्ने सेवा, सम्मान, हक र अधिकारलाई ताला लगाएर नजिकका कनिष्टहरु पदोन्नति हुँदा हुन्छन् । म पनि त्यसरी नै अन्यायमा परेको शिक्षक हुँ ।
राज्यका नीति नियम र विधान कानूनमा नै शिक्षकहरुलाई सेवा सुविधा, प्रोत्साहन र सम्मानको खास केही व्यवस्था छैन । शिक्षहरु आफ्नो पेसामा रमाउने, समाजमा सानमानको जीवनशैली अपनाउने र दक्ष तथा योग्य नयाँ पुस्ताका लागि कुनै आकर्षण छैन । शिक्षकले पाउने साधारण सम्मान र प्रोत्साहन भनेको केवल पदोन्नति अर्थात श्रेण्गित बढुवा मात्र हो । विचरा शिक्षकहरु त्यसैलाई पनि ठूलो उपलव्धी, ठूलो सम्मान र ठूलो खुशी सम्झन्छन् । त्यही बढुवाको आशमा कर्मठ र इमान्दार शिक्षकहरु दसकौंसम्म आफ्नो पसिना बगाइरहेका हुन्छन् । तर सम्बन्धित निकायले त्यही आशालाई पनि निराशामा बदलिदिन्छ । करिव चार दशक सम्म त्यस्तै आशा पालेर पसिना बगाएको तर अन्ततः निराशातिर धकेलिदै गैरहेको एक पात्र म पनि हुँ ।
नीतिले मूल्यांकन नहुनु र नियतले मुल्यांकन नहुनु फरकै कुरा हो । निर्धारित नीति नियमअनुरुप नै मेरो मुल्यांकन या सम्मान हुन नसकेको भए मेरो यो गुनासो रहने थिएन । निर्धारित मापदण्डसम्म पुग्न म म आफुलाई अझै सवल र सक्षम बनाउन प्रयास गर्थेहुँला । तर निर्धारित मापदण्ड पुरा गरेको धेरै वर्ष भैसकेको छ । म प्राथमिक तह तृतिय श्रेणिबाट सेवा सुरु गरेको पुरा २२ वर्ष पछि मात्र मेरो दितीय श्रेणीमा पदोन्नति भयो । दितिय श्रेणी पुगेको पनि आज करिव १६ वर्ष पुरा हुन लागेको छ । कैलाली जिल्लामा यति लामो समय एउटै श्रेणीमा रहेर काम गरेका शिक्षक विरलै होलान् । तर पनि मेरो मूल्यांकन भएको छैन । म भन्दा निकै वर्ष पछि सोवा प्रवेश गरेकाहरु म भन्दा उच्च श्रेणीमा पदोन्नति भैसके । जो राजनीतिक दल र संगठनसँग नजिक थिए, जसले आर्थिक चलखेल गर्न सके, जसको पहुँछ थियो उनीहरुले केही वर्षर्म अवसर पाए । मसँग शिक्षकमा हुनुपर्ने योग्यता र क्षमता बाहेक अरु थोक केही थिएन । त्यसैले होला सायद, मेरो उचित मुल्यांकन हुन नसकेको ।
सबभन्दा ठूलो पीडा त मेरो मुल्यांकन प्रक्रियामा हुने गरेको गैरकानूनी हस्तक्षेपबाट हुने गर्दछ । सरकारको निर्धारित प्रक्रिया अनुसार हरेक वर्ष मैले कार्यसम्पादन मूल्यांकन फारम भर्ने गर्छु । तर मैले भरेको फारम जस्ताको त्यस्तै सम्बन्धित मूल्यांकनकर्ता निकायमा पुग्दैन भन्ने सुन्छु । कार्यलयमा मेरा फारममा फेरवदल हुन्छ रे । मैले भरेका तथ्यांकहरुमा केरमेट गरिएको हुन्छ रे । मेरो कार्य अवधी, लिएका तालिमहरु, अनुभव र हासिल गरेका अन्य उपलव्धीहरुमा केरमेट गरेर बास्तविक भन्दा कम देखाइएको हुन्छ रे । त्यो कसले गर्छ थाहा पाउन सकेको छैन । तर मूल्यांकन प्रतिस्पर्धामा मलाई पछी पार्न त्यसो गरिएको होला भन्ने मलाई लाग्छ ।
कार्यालयमा पुगेपछि केरमेट हुने यो समस्याको चपेटामा म र मजस्ता अरु धेरै शिक्षक साथीहरु पनि पर्ने गरेका छन् । कैलेकाहीँ लाग्छ, सरकारको शिक्षा नीति नै शिक्षकलाई दास बनाउने उदेश्यले प्रेरित छ । अर्कोतर्फ शिक्षकका पेसागत हकहितमा हामी बोल्छौं भन्ने शिक्षक संगठनहरु केवल सत्ताका पुजारी, मुकदर्शक र लालपित मनस्थितिमा रहेकाले निम्न तहका, गाऊँमा शिक्षण गर्ने चाकरी नगर्ने, इमान्दारिता साथ नियमित पढाउने, कर्तव्य बोध गर्ने शिक्षकहरु माथि उनीहरुको कुनै सदासयता हुँदैन । उल्टै त्यस्ता शिक्षकहरुलाई पछी पार्नमा ती संगठनहरु समेत भूमिका खेलिरहेका हुन्छन् । यस्तो भूमिका देख्दा ती संगठनहरुको औचित्यमाथि पनि प्रश्न गर्न मन लाग्छ ।
आज पैंसा, पावर, पद र राजनीतिक प्रतिशोधका कारण पुराना इमान्दार शिक्षकहरु पाखा लाग्दै गैरहेको र कनिष्टहरुको पदोन्नति हुने गरेको पाइन्छ । पद्धति, प्रणाली, विधि, प्रकृया र नीति नियमका आधारमा हुनुपर्ने सरुवा बढुवा पद्धतिलाई गलहत्याएर मनोमानी ढङ्गबाट भैरहेका छन । जसको प्रत्यक्ष पीडा भोगिरहेका दर्जनौं शिक्षकहरुमध्ये म पनि एक हुँ ।
कैलेकाहीं आफैलाई प्रश्न गर्छु – करिव चार दशक शिक्षण पेसामा लागेर राष्ट्रसेवा गर्नु मेरो गल्ती थियो ? के मैले वालवालिकाहरुलाई गलत शिक्षा दिएहुँला ? के मैले शैक्षिक क्षेत्रको मर्यादा नाघेको हुँला ? यी यस्ता तमाम प्रश्नले मलाई पीडाबोध गराइरहन्छ ।
दूखका अनेक कथा छन मसँग । नितान्त मेरो वैयक्तिक कमजोरीले बनेका दुख अरुलाई सुनाउन पटक्कै मन छैन । तर राज्यसंयन्त्रका कारण आर्जेका दूख भने पोख्न मन लाग्छ । यस्तै एक दूख छ मेरो उमेरको कथामा । २०३८ सालमा मैले देशको नागरिक बनेको आधिकारिक प्रमाणपत्र पाएँ । हर्षले उफ्रिएँ । मैले आफ्नै देशको नागरिक हुन पाएको थिएँ ।
अफसोच्, मेरो खुशी धेरै पल रहन सकेन । त्यो नागरिकताको प्रमाणपत्रमा मेरो उमेर बास्तविक उमेरभन्दा चार वर्ष बढी लेखिको थियो । मैले बोलेको २०२१ सालको मेरो जन्ममितिलाई प्रशासनका हाकिमले उमेर २१ वर्ष बनाइदिए । मैले उनलाई सच्याइदिन अनुरोध गर्दा उनले मानेन् । उनले जवाफ दिए –कैलेकाहीं मेरो हातले बाङ्गो लेख्छ, आँखाले पनि बाङ्गो देख्छ, तर दुईचार वर्ष उमेर फरक पर्दैमा कतै आकास खस्दैन, केही फरक पर्दैन । ऊ वेला हाकिमसँग बाझ्ने हिम्मत र मनसाय दुवै थिएन मसँग । तर त्यसको दूखद नियती म आज भोग्दैछु । मैले उमेर हदका कारण मेरो जन्मसिद्ध उमेरभन्दा चार वर्ष अघि नै सेवाबाट अनिवार्य अवकास लिनुपर्ने समय आएको छ । आज मसँग प्रतिरक्षा गर्ने कानुनी आधार केही छैन । म आफैलाई प्रश्न गर्छु – साँच्चै, ती हाकिमका हात र आँखा बाँङ्गै थिए की तिनको नियत बाँङ्गो थियो ?
यति हुँदाहुँदै पनि एक गहन खुशी र गर्वबोध मेरो हृदयमा महसुस हुन्छ । स्वास फेर्ने गर्छु । सोच्छु, राज्य र सम्बन्धित निकायले मलाई सम्मान नगरे पनि, मेरो कर्मको उचित मुल्यांकन नगरे पनि मैले ज्ञान रोपेका पृय वालवालिकाहरु समाजमा स्थापित भएका छन्, राज्यको उच्च पदमा रहेर राष्ट्रसेवा गर्दैछन् । उनीहरुले इमान्दारिता र मेहनत गरी आफ्नो जीवन मर्यादित र सम्मानित बनाउन् समाज र देशलाई समृद्ध र सुन्दर बनाउन् । र शिक्षण पेसालाई जीवनको ध्येय मानेर यो पेसामा आउने इमान्दार र मेहनती नवप्रवेशीहरुले मेरो जस्तो दूख र निराशा भोग्न नपरोस् । यही कामना छ मेरो ।