सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मापदण्ड विपरीत बनेका नालीले ढल निकासको समस्या

२०७७ साउन २२, १२:०९ जनक विष्ट

धनगढीः धनगढीमा उप–महानगरपालिका, सघन शहरी विकास कार्यक्रम एवंम् संघिय सरकारका अन्य निकायले निर्माण गरेका सडकहरुका नालीले सडकमा जम्ने पानी समेत थेग्न सकेका छैनन्। उप–महानगरपालिकामा मापदण्ड अनुसार नाली नबनाईएपछि वर्षातमा पनि सडक हिलाम्यको समस्या बढ्दै गएको छ।

उप–महानगरपालिका क्षेत्रका सडकमा निर्माण भएका नाली मापदण्ड अनुसार नबनाईदा वर्षातको समयमा पानी निकास नहुँदा सडक समेत जलमग्न हुन थालेका हुन्। ढल निकास नहुँदा समान्य वर्षामा समेत डुबानको समस्या वर्षेनी बढ्दै गएको छ।

सडक क्षेत्रमा मापदण्ड मिचेर बनाईएका नालीले गर्दा पानी निकास नहुँदा सडक जलमग्न हुने गरेका छन् भने डुबान नियन्त्रणका लागि ढल निकासको छुट्टै व्यवस्थापन हुन सकेको छैन्। धनगढीको ओम प्रकाश पाण्डेले विकास निर्माणका कार्य सञ्चालन गर्ने निकायले मापदण्ड अनुसार नाली निर्माण नगर्दा डुबानको समस्या बढ्दै गएको बताए।

उप–महानगरपालिका क्षेत्रमा वषौँ पहिले निर्माण गरेका सडक मात्र नभई नयाँ सडकमा समेत ढल निकास नहुने समस्या देखिएको छ। कतिपय स्थानमा पूराना नालीहरुमा जम्मा भएको फोहोरका कारण पुरिएका छन् भने नयाँ नालीमा मापदण्ड अनुसार काम नहुदा डुबान हुने क्रम बढ्दो क्रममा रहेको छ।

अतिक्रमणको चपेटामा परेका नालीको अतिक्रमण हटाउन समेत वेवास्ता गरिएको छ। धनगढीमा सघिय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकहरुमा पनि उस्तै समस्या रहेको पाईएको छ। तर ती नालीहरु ढल निकासका लागि नभएर सडक क्षेत्रको पानी निकासका लागि मात्र बनाईएको शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीले जनाएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइका इन्जिनीयर एवंम् सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले ती नालीहरु ढल निकासका लागि नभएर सडकको पानी निकासका लागि मात्र बनाएकाले ठुला वर्षा धान्न नसक्ने बताए। उनले ढल निकासका लागि छुट्टै नाली निर्माण गर्नुपर्ने बताउँदै क्षेत्रिय शहरी विकास कार्यक्रम अन्तरगत निर्माण हुने सडकमा त्यो व्यवस्था रहेको जानकारी दिए।

 धनगढी उपमहानगरपालिकाले वर्षेनी नाली सफाईको अभियान समेत चलाउँदै आएको छ तर वषौँदेखि पुरिएका नालीहरु पूर्ण रुपमा सफाई नगरिदा निकासको समस्या झनै चुनौतीपूर्ण बनेपछि डुबान बढ्न थालेको गुनासो नगरबासीको छ।

उप–महानगरपालिकामा दिगो ढल व्यवस्थापन गर्ने योजनाका साथ सडक निर्माणका काम नभएपछि वर्षेनी समान्य वर्षामा पनि डुबान हुन थालेको छ। जुन कुरा उपमहानगरपालिकाका प्राविधिक कर्मचारीहरुले समेत स्वीकार गरेका छन्।

धनगढी उपमहानगरपालिकाका इन्जिनीयर द्धिजराज भट्टले नगर क्षेत्रमा बनाईएका नालीहरु खुल्ला छाडिदा फोहोरका कारण पुरिएर पानी नबग्ने समस्या देखिएको सुनाए। यस्तै टुक्रे योजना हाल्ने प्रवृत्तिले पनि बिना डिजाईन नाली निर्माण हुन थालेपछि निकासमा समस्या देखिएको बताउँदै उनले मापदण्ड अनुसार निर्माण गर्नुपर्नेमा जोड दिए।

प्राविधिक दृष्टिकोणबाट समेत सडकमा बनाईने नालीले ठुलो खालको पानी निकास गर्न नसक्ने भएपनि छुट्टै ढल निर्माणमा चासो दिईएको छैन्। छुट्टै ढल निर्माणमा उप–महानगरपालिका लगायतका निकायले आनाकानी गरेपछि डुबानको समस्याले भविष्यमा विकराल रुप लिने देखिएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस