सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सीमानाकाबाट संक्रमितसँगै भारतीय निर्वाध प्रवेश गर्न थालेपछि जोखिम बढ्यो

२०७७ साउन २०, ०७:४२ जनक विष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा भारतसँग जोडिएका सीमानाकामा लापरवाही बढेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ। सरकारले कोरोना भाईरसको महामारी फैलिन नदिन भन्दै गत चैत १० गतेदेखि अन्तराष्ट्रिय सीमानाका बन्द गरेको भएपनि लकडाउन खुलेसँगै लापरवाही बढेको छ।

लकडाउन जारी भएका बेला भारतमा अलपत्र अवस्थामा परेका नेपालीहरुको स्वास्थ्य सुरक्षा अपनाएर उद्दार गरिएको थियो। तर लकडाउन खुलेपछि भारतसँग जोडिएका सीमानाकामा सहज रुपमा आवागमन हुन थालेपछि कोरोना महामारीपछि भारत फर्किएका नागरिक समेत धमाधम नेपाल आउन थालेका छन्।

कैलालीको त्रिनगर नाकामा त सुरक्षाकर्मीले प्रति व्यक्तिबाट पाँच हजार लिदै नेपाल प्रवेश गर्न दिएको आरोप लागेको छ। उनीहरुलाई अनिवार्य क्वारेन्टिन र कोरोना परीक्षण नगर्ने शर्तमा सुरक्षाकर्मीहरुले रकम असुलेर प्रवेश दिन थालेको आरोप लागेको हो।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने सीमानाकाबाट समस्यामा परेका नेपाली बाहेक अन्यलाई प्रवेश अनुमती नभएको दावी गरे। भारतमा अलपत्र अवस्थामा परेका नेपालीहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर ल्याईरहेको भएपनि अन्यलाई प्रवेश गर्न नदिन सीमामा कडाई गरिएको प्रजिअ बोहराले बताए।

उनले सुरक्षाकर्मीले नै रकम असुलेको विषयमा भने आवश्यक छानविन थालिएको दावी गरेका छन्।  सीमानाका बन्द रहेकै अवस्थामा सुरक्षा निकायकै संरक्षणमा भारतीयलाई प्रवेश दिईन थालेपछि धनगढीका ग्यारेज, वर्कसप तथा कपाल काट्ने पसलहरुमा उनीहरु निर्धक्कसँग काम गर्न थालेका छन्।

भारतमा कोरोनाको संक्रमण दैनिक हजारौँमा बढिरहेका बेला नेपाल फर्किएका उनीहरुलाई आईसोलेसन र क्वारेन्टिनमा नबसाएपछि संक्रमणको जोखिम बढेको छ। भारतीय मात्र नभएर कोरोना महामारीपछि अलपत्र परेका नेपालीहरु समेत सीमानाकाबाट निर्वाध रुपमा आउन थालेका छन्।

उनीहरुलाई होल्टीङ सेन्टरमा राखेर सम्बन्धीत स्थानीय तहको जिम्मा नलगाएर स्वतन्त्र छोडिदिदा समुदाय स्तरमा जोखिमको चिन्ता गरिएको छ। अहिले भारतमा संक्रमण भएका नेपालीहरु पनि फर्किने क्रम बढेकाले जोखिम बृद्धि हुदै गएको छ।

भारत तथा अन्य प्रभावित क्षेत्रबाट फर्किनेलाई अनिवार्य क्वारेन्टिनमा नराखिएपछि संक्रमण भयाबह बन्ने र त्यसको ठुलो मूल्य चुकाउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्।

उनले क्वारेन्टिन व्यवस्थापनको जिम्मा सथानीय सरकारको भएकाले भारत तथा प्रभावित क्षेत्रबाट फर्किनेहरुरुलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न सुझाव दिए। सुदूरपश्चिममा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएपनि भयावह नबनेको अवस्थामा गरिने लापरवाहीले  समस्या निम्त्याउने चिकित्सकले समेत बताएका छन्।

कुनै औषधी नै पत्ता नलागेको कोरोना भाईरसको संक्रमण भयावह बनिहालेमा प्रदेशका अस्पतालमा उपलब्ध स्रोत साधनले थेक्न नसक्ने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्दै आएका छन्।

भारतबाट फर्किनेहरुको क्वारेन्टिवानमा व्यवस्थापन गर्न नसकेमा गाउँ गाउँमा कोरोना भाईरस फैलिने भएकाले सबै पक्ष सचेत बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको सुझाव रहेको छ।

यसअघि भारतबाट फर्किनेहरु भन्दा अब आउनेहरबाट बढि जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

तर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुले भने भारत तथा प्रभावित क्षेत्रबाट फर्किनेहरुलाई अनिवार्य क्वारेन्टिनमा व्यवस्थापन गर्दै आएको दावी गर्दै आएका छन्। सीमानाकामा समेत कडाई गरिएको जिकिर उनीहरको छ। 
 

 
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस