सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सामान्य वर्षामा डुबान,जनप्रतिनिधिको अतिक्रमण हटाउ अभियान हल्ला मात्रै !

२०७७ साउन १४, १२:५२ जनक विष्ट

धनगढीः  तीन वर्ष अघि निर्वाचित भएका जनप्रतिनिधिले पहिलो नगर कार्यपालिका बैठकबाट धनगढीमा खोलानाला अतिक्रमण हटाउ अभियान सञ्चालन गर्ने निर्णय गरेका थिए। तर जनप्रतिनिधिले पदभार सम्हालेको तीन वर्ष बित्दा समेत खोलानाला हटाउ अभियान सञ्चालन हुन नसकेको हो।

उपमहानगरपालिकाले वडा नम्बर १ का अध्यक्ष समेत रहेका प्रवक्ता सन्तोश मुडभरीको संयोजकत्वमा खोलानाला अतिक्रमणको अवस्थाबारे अध्ययन गर्न छुट्टै समिति गठन गरेको भएपनि उक्त समितिले खासै काम गर्न सकेको छैन्। गत वर्ष उपमहानरपालिकाको वडा नम्बर ५ तारानगरको सुकुटी नालाको प्राविधिक नाप जाँच गरी उक्त समितिले प्रतिवेदन बुझाएको भएपनि अहिले सम्म सार्वजनिक गरिएको छैन्।

सो समितिले सुकुटी नालाको २५ ठाउँमा विभिन्न व्यक्ति तथा सार्वजनिक संस्थाले अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको प्रतिवेदनमा औल्याएको छ। खोलानाला अतिक्रमण हटाउ समितिका संयोजक समेत रहेका उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरी भने कोरोना महामारीका कारण थप काम अगाडी बढाउन नसकिएको दावी गर्छन्।

 

 

 

उनले सुकुटी नालाको प्रतिवेदनअनुसार सूचना जारी गरी फिल्डमा जाने तयारीमै रहेका बेला कोभिड–१९ को महामारी देखिएकाले काम रोकिएको बताए। ‘हामीले अध्ययन गरी तयार गरेको प्रतिवेदन अनुसार सूचना जारी गरी फिल्डमा जाने तयारीमै थियौँ। कोरोनाले प्रभावित गर्यो।’ उनले भने, ‘तरपनि यो आर्थिक वर्षमा हामीहरु त्यो खोलाको भाग चाँही किलियर गछौँ।’

खोलानाला हटाउ समितिको प्रतिवेदन अनुसार सुकुटी नाला अतिक्रमण गर्नेमा निजी स्कुल, स्थानीय नेता, कर्मचारी तथा व्यापारी लगायतका छन्। उनीहरुले आफ्नो जग्गासँग जोडिएको खोला अतिक्रमण गरी घर, सौचालय लगायतका पक्की संरचना बनाएका छन् भने कतिपयले भविष्यमा संरचना बनाउनेगरी पक्की तटबन्ध वा घेरवार नै लगाएका छन्।

सुकुटी नालाको हकमा अतिक्रमण भएको खोलानाालाको लम्बाई र अतिक्रमण गर्ने व्यक्ति तथा संस्थाको समेत पहिचान गरिसक्दा उनीहरुलाई अतिक्रमण हटाउन भन्दै सार्वजनिक सूचना सम्म जारी गर्न सकेको छैन्। तर धनगढी उपमहानगरपालिकाले भने अभियानलाई तिव्रताका साथ अगाडी बढाउने दावी गरिरहेको छ।'

 

 

 

प्रवक्ता मुडभरीले सुुकुटी खोलाको अतिक्रमण हटाएर यो वर्ष नै अन्य खोलाको पनि रिर्पोट बनाउने तयारीमै रहेको बताउँछन्। धनगढी उपमहानगरपालिकाले पहिलो नगर कार्यपालिकाबाट भएको निर्णय कार्यान्वयन गर्न नसक्दा दिनप्रतिदिन खोलानालाको अतिक्रमण बढ्दो क्रममा रहेको छ।

 सुकुटी नालाकै हकमा अतिक्रमण हटाउ समितिले व्यक्तिको नामै किटान गरेर प्रतिवेदन बुझाईसकेका बेला अन्य प्रक्रिया नथाल्दा उनीहरुले नै थप अतिक्रमण गर्न थालेका छन्। उपमहानगरपालिकाका जनप्रतिनिधी भने राजनीतिक दबाब र विभिन्न खालका प्रलोभनमा पर्दा अभियान सुस्ताएको दावी गरिदै आएको छ। तर अतिक्रमण हटाउ समितिका संयोजक समेत रहेका मुडभरीले भने त्यसरी आउने दबाबको कुनै अर्थ नहुने दावी गरे।

 

 

 

‘प्रेसर होला नहुने भन्ने कुरै छैन्। तरपनि ज–जसले आफूले खोला मिचेर संरचना बनाउनुभएको छ। उहाँहरु आफैले पनि बुझिसक्नुभएको छ होला।’ उनले भने, ‘खोलाको भागको जीवनभरी लालपुर्जा पाउनुहुन्न कुनै न कुनै दिन भत्काउनुपर्छ। त्यसैले हामी उहाँहरुलाई सम्झाएर भएपनि अगाडी बढछौँ।’

तर धनगढीमा खोलानालाको अतिक्रमण बढ्दै जान थालेपछि वर्षातको समयमा हुने डुबानको समस्या चुनौतीपूर्ण बन्दै गएको छ। अहिले समान्य वर्षामा पनि पानीको निकास नहुँदा धनगढीमा डुबान हुँदै आएको छ। यस्तो अवस्थामा अतिक्रमण हटाउने अभियान सञ्चालन गरेका जनप्रतिनिधिहरु भने आफैले तयार गरेको प्रतिवेदन थन्क्याएर बसेको आरोप लाग्न थालेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस