धनगढीमा हत्याका दोषी साढे ८ वर्षपछि पक्राउ
धनगढी : धनगढीमा हत्याका दोषी साढे ८ बर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ४१ वर्षीय सुरेन्द्र सिहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले धनगढी गाउँमा २०६८ सालको मंसिरमा लागेको मेलामा सिहलाई कुटपिट गरी घाईते बनाउने मध्येका सिहलाई आठ वर्ष ७ महिनापछि पक्राउ गरिएको बताए।
सिहको उपचारका क्रममा मृत्यु भएको थियो। सिहको कुटपिटपछि दायर भएको कर्तव्य ज्यान मुद्दामा श्रेष्ठ सहितका दुईजनालाई प्रतिवादी बनाएको थियो। कैलाली जिल्ला अदालतले दुवैजनालाई जन्म कैदको सजाय सुनाएको थियो।
श्रेष्ठ घटना भएदेखि नै फरार रहेकोमा शनिबार धनगढी उपमहागरपालिका वडा नम्बर ९ मा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक विष्टले बताए। श्रेष्ठलाई आज जिल्ला अदालत कैलालीमा बुझाईएको छ।