सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसरी स्थापना भयो धनगढीमा महिलाका लागि आइसोलेसन र होल्डिङ सेन्टर ?

२०७७ साउन ९, ०३:४० खबर संवाददाता

धनगढी: संयुक्त राष्ट्र संघ(युएन) अन्तरगतका विभिन्न निकाय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपालस्थित प्रतिनिधिले बैशाखमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरे। सो क्रममा कोरोना भाइरसले पारेको पछिल्लो अवस्थाबारे छलफल भएको थियो। 

भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबिच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लकडाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिएका थिए। 

भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने वचन पनि दिएका छन्। सोही वचन अनुसार सयुक्त राष्ट्र संघ अन्तरगतका निकायले सात वटै प्रदेशमा कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थाले। 

सुदूरपश्चिममा युएनका कार्यक्रम सञ्चालनका लागि संयोजनको जिम्मेवारी युएनडिपीले पायो र विभिन्न कार्यक्रम समेत सञ्चालन गरियो। सोही क्रममा क्वारेन्टिनमा महिला र बालबालिका असुरक्षित भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भए। 

लम्कीमा क्वारेन्टिनमै सामुहिक बलात्कारको घटना पनि सार्वजनि भयो। धनगढीका पत्रकार दीपक उपाध्याय र युएनडिपीका कार्यक्रम संयोजक सतिस पाण्डेयविच धनगढीमा महिलाका लागि होल्डिङ्ग सेन्टर र आईसोलेशन स्थापना गर्ने विषयमा छलफल भयो। त्यसको संयोजन पाण्डेयले नै गर्ने भए। 

आइसोलेसन र होल्डिङ सेन्टर स्थापनाका लागि युएनडीपीसंगै युनिसेफ, युुएन एफपीए, डब्लुएफपी, रेडक्रस कैलाली, विश्व स्वास्थ्य संगठन, कैलाली उद्योग वाणिज्य संघ, धनगढी जेसिज, केयर नेपाल, सनगु्रप, कैलाली अस्पताल र ह्युमानिटी फाउण्डेसन पनि जोडिए। पाण्डेयका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र धनगढी उप–महानगरपालिकाले पनि समन्वय गर्ने कुरा भयो। 

युएनका निकाय, गैर सरकारी सस्था र अन्य निजी क्षेत्रले नै आइसोलेसनमा आवश्यक सबै सामाग्रीको जोहो गरेका हुन्। बि. पोलिटेक्नीकमा रहेका बेड भाडामा लिइएको छ भने मास्क, सेनिटाइजर, झुल, पानी, लुगा कपडा, भाँडा, पुस्तक, कार्पेट लगायतका सबै सामाग्री पनि युएनका निकाय, गैर सरकारी संस्था र निजी क्षेत्रबाट सहयोग भएको पाण्डेयले बताए। 

आइसोलेसन र होल्डिङ सेन्टर स्थापना भइसकेपछि भने सञ्चालनका लागि धनगढी उप–महानगरपालिकाकी कार्यपालिका सदस्य गीता पन्तको संयोजकत्वमा समिति गठन गरिएको छ। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसार आइसोलेसन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन्। 

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचार गर्न धनगढीमा आएका र समस्यामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने उनले बताए। 

कमेन्ट लोड गर्नुस