सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिकलसेल एनिमिया रोकथाम र डिजिटल स्वास्थ्य साक्षरताबारे टेलिभिजन बहस

२०८३ असार ७, ०५:१५ खबर संवाददाता

धनगढी :सिकलसेल एनिमिया रोकथाम, उपचार तथा डिजिटल स्वास्थ्य साक्षरता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको छ।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढी कैलालीको सहकार्य तथा न्युज नेपाल टेलिभिजन धनगढीको आयोजनामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी मनमोहन स्वाँरले सहजीकरण गरेका थिए।
बहसमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर, टिकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवलसिंह भुल, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासी तथा सिकलसेल एसोसिएसन अफ नेपालका अध्यक्ष पिताम्बर चौधरी प्यानलिस्टका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै विशेषज्ञहरूले सिकलसेल एनिमिया वंशाणुगत (जेनेटिक) रोग भएकाले यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग नभएको स्पष्ट पारे। आमाबुबा दुवैमा सिकलसेलको जीन भए सन्तानमा यो रोग देखिने सम्भावना बढी रहने बताइएको छ।
चिकित्सकका अनुसार सिकलसेल रोगमा रातो रक्तकोष (रेड ब्लड सेल) सामान्य गोलाकार हुनुको सट्टा हंसिया आकारको बन्ने गर्छ। यस्ता रक्तकोषले रक्तनलीमा सहज रूपमा प्रवाह गर्न नसक्दा शरीरका विभिन्न अंगमा अक्सिजनको कमी भई अत्यधिक दुखाइ, रक्तअल्पता, थकान, ज्वरो, संक्रमण तथा अन्य जटिल स्वास्थ्य समस्या देखिन सक्छन्।

कार्यक्रममा कैलाली र कञ्चनपुरका थारु समुदायमा मात्र नभई पछिल्ला वर्षहरूमा अन्य समुदायमा पनि सिकलसेल रोग तथा यसको वाहक (ट्रेट) अवस्था देखिन थालेको जानकारी दिइयो। विशेषगरी थारु समुदायमा यसको जोखिम बढी भए पनि विभिन्न जातजाति र समुदायमा समेत परीक्षणका क्रममा रोग भेटिने क्रम बढिरहेको स्वास्थ्यकर्मीहरूले बताए।
बहसका क्रममा सरकारले सिकलसेल रोगीहरूको उपचारका लागि वार्षिक एक लाख रुपैयाँसम्मको सहुलियत उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिइयो। 

हाल कैलालीको सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल मार्फत उक्त सेवा उपलब्ध गराइँदै आएको जनाइएको छ। यद्यपि केही बिरामीहरूले सेवा प्राप्तिमा कठिनाइ हुने गरेको गुनासो गरेका थिए।
विशेषज्ञहरूले सिकलसेल रोग पूर्ण रूपमा निको पार्ने उपचार हाल सीमित रहेको बताए। बोन म्यारो ट्रान्सप्लान्टमार्फत केही अवस्थामा रोग नियन्त्रण वा निर्मूल गर्न सकिने भए पनि यो उपचार महँगो र सबैका लागि सहज पहुँचमा नरहेको उल्लेख गरियो। त्यसैले समयमै परीक्षण, नियमित उपचार, परामर्श तथा जनचेतना नै रोग नियन्त्रणको मुख्य उपाय भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा विवाहअघि सिकलसेल परीक्षण गराउने अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइयो। सिकलसेलको जीन भएका व्यक्तिहरूबीच विवाह हुँदा सन्तानमा रोग देखिने सम्भावना बढी हुने भएकाले विवाहपूर्व परीक्षणले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विज्ञहरूले बताए।
बहसमा सहभागी समुदायका सदस्यहरूले उपचार, औषधि, आर्थिक सहायता तथा स्वास्थ्य सेवाको पहुँच सम्बन्धी आफ्ना जिज्ञासा र समस्याहरू सरोकारवाला निकायसमक्ष राखेका थिए। सहभागीहरूले प्रदेशमै प्रभावकारी उपचार सेवा विस्तार गर्न र बिरामीमैत्री कार्यक्रमहरू सञ्चालन गर्न सरकारसँग माग समेत गरेका छन्।

स्वास्थ्यकर्मीहरूले सिकलसेल रोगबारे जनचेतना फैलाउन, नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न, डिजिटल माध्यमबाट स्वास्थ्य शिक्षा प्रवाह गर्न तथा प्रभावित समुदायलाई सहज उपचार सेवा उपलब्ध गराउन सरकारका विभिन्न निकायले काम गरिरहेको जानकारी दिएका छन्। उनीहरूले रोगको पहिचान, रोकथाम र व्यवस्थापनका लागि समुदाय, स्वास्थ्य संस्था र सरकारबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।

कमेन्ट लोड गर्नुस