सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सूचनाको हकको प्रभावकारी उपयोगबारे अन्तरक्रिया सम्पन्न

२०८३ असार ७, ०५:२४ खबर संवाददाता

धनगढी: प्रमाणमा आधारित पत्रकारिता प्रवर्द्धन, सञ्चार क्षेत्रको विकास तथा सामाजिक परिवर्तनका लागि सूचनाको हकको प्रभावकारी उपयोगबारे धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौंको आयोजनामा भएको कार्यक्रममा एफएमडीसीका अध्यक्ष नवीन सिलाधरको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सार्कीले पत्रकारिता समाज र राष्ट्रलाई सही दिशा दिने महत्वपूर्ण माध्यम भएको बताए। उनले पत्रकारले नागरिकलाई सुसूचित गराउने, सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्ने तथा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।

अन्तरक्रियामा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, यसको ऐतिहासिक पृष्ठभूमि तथा लोकतान्त्रिक शासन व्यवस्थामा यसको महत्वबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले सार्वजनिक निकायबाट आफ्नो वा सार्वजनिक महत्वका सूचना माग्न तथा प्राप्त गर्न पाउने अधिकार नै सूचनाको हक भएको स्पष्ट पारे।
कार्यक्रममा नेपालको संविधानको धारा २७ अन्तर्गत सुनिश्चित गरिएको सूचनाको हक, राष्ट्रिय सूचना आयोग, केन्द्रीय समन्वय इकाई, प्रदेश अनुगमन इकाई, सूचना प्राप्त गर्ने प्रक्रिया, शुल्क व्यवस्था तथा सार्वजनिक निकायले नियमित रूपमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबारे जानकारी गराइएको थियो।

छलफलका क्रममा व्यक्तिगत सूचना र सार्वजनिक महत्वका सूचना गरी सूचनाका दुई प्रकारबारे पनि चर्चा गरिएको थियो। वक्ताहरूले नागरिकलाई सुसूचित बनाउने, राज्यका कामकारबाहीमा पारदर्शिता कायम गर्ने तथा सुशासन प्रवर्द्धन गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सञ्चारकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार निराजन परियारले गरेका थिए भने प्रस्तुतिकरण पत्रकार उमेद बागचन्दले गरेका थिए।

कमेन्ट लोड गर्नुस