धनगढीको लक्ष्मी सहकारीमा अनियमितता मौलाएको आरोप
धनगढीः धनगढीको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा कर्मचारी र कार्य समितिको मिलोमतोमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको छ। सहकारीका सीमित कर्मचारी र कार्य समितिका पदाधिकारीकै मिलोमतोमा संस्थाको प्रचलित ऐन कानुन विपरीत आफूखुसी काम गरेर आर्थिक अनियमितता मौलाएको आरोप लागेको हो।
लक्ष्मी सहकारीका अध्यक्ष राकेशमान कर्माचार्य सहितका केही कर्मचारीको मिलोमतोमा संस्थामा आर्थिक अनियमितता र भ्रष्टाचार मौलाएको आरोप लगाईएको हो। सहकारी भित्रको अनियमिततालाई सञ्चार माध्यमबाट उजागर गरिदिन भन्दै प्राप्त भएको गोप्य गुनासो अनुसार लक्ष्मी सहकारीले संस्थाको विधान, बचत तथा ऋण नीति विपरीत अध्यक्ष कर्माचार्यका नाममा करिब एक करोड बराबरको कर्जा दिर्ईएको छ।
उक्त गुनासोमा लक्ष्मी सहकारीको बचत तथा क्रण नीति अनुसार दुई लाख भन्दा बढि कर्जा लगानी गर्दा घरजग्गा तथा कुनै चलअचल सम्पत्ती धितो राख्नुपर्नेमा अध्यक्ष कर्मचार्यका नाममा कुनै धितो नराखेर कर्जा लगानी गरिएको दावी गरिएको छ। जसमा कुमारी टे«डर्स, कर्माचार्य ट्रेडर्स, राम गोपाल कर्माचार्य, दिप्ती कर्माचार्य र राकेशमान कर्माचार्यको नाममा लगानी गरिएको उल्लेख छ।
एकाघर परिवारमा कर्जा लगानी गर्न नमिल्ने भएपनि अध्यक्ष र कर्मचारीको मिलोमतोमा सर्वसाधारणको निक्षेपमा मनोमानी भईरहेको आरोप लगाईएको छ। २०७६ चैत मसान्त सम्म अध्यक्ष कर्माचार्य र एकाघर परिवारमा बिना धितो ७७ लाख ४६ हजार ८ सय ६९ रुपैँया कर्जा लगानी गरिएको दावी उक्त गुनासोमा छ।
जस अनुसार अध्यक्ष कर्माचार्यको नाममा १७ लाख ५० हजार, उनका दाजु भनिएका रामगोपाल कर्माचार्यको नाममा पनि १७ लाख ५० हजार, दिप्ती राज भण्डारी श्रेष्ठको १२ लाख ४७ हजार, कर्माचार्य ट्रेडर्सको नाममा १५ लाख र कुमारी ट्रेडर्सको नाममा पनि १५ लाख कर्जा प्रवाह भएको छ।
सहकारी भित्र भईरहेका अनियमित कार्यमा व्यवस्थापक दिपेन्द्र प्रसाद श्रेष्ठको समेत अध्यक्षलाई पूर्ण सहयोग गरेको दावी गरिएको छ। सोही गुनासोपछि लक्ष्मी सहकारी बचत तथा क्रण सहकारी संस्थासँग सूचनाको हक २०६४ को दफा ३ बमोजिम संस्थाको विधान, बचत तथा ऋण नीति र प्रवाह भएको कर्जाको विवरण माग गर्दा उपलब्ध गराईएको छैन्।
सहकारीको विनीयम २०६७ को परिच्छेद ७ को दफा ५५ बमोजिम ती सूचना दिन नमिल्ने लक्ष्मी सहकारीले जनाएको छ। संस्थाका अध्यक्ष राकेशमान कर्माचार्य र व्यवस्थापक दिपेन्द्र प्रसाद श्रेष्ठसँग उक्त गुनासो बारे आधिकारिक प्रतिक्रिया माग्दा दिन अस्वीकार गरेका छन् भने संस्थाको नीति अनुसार नै अध्यक्ष कर्माचार्य लगायतका व्यक्तिका नाममा कर्जा प्रवाह भएको दावी गरिएको छ।
तर रामगोपाल कर्माचार्य, कर्मचार्य ट्रेर्डस र कुमारी कर्माचार्य ट्रेडर्सको हकमा व्यक्तिगत धनजमानी र राकेशमान कर्माचार्य र उनकी श्रीमती दिप्ती भण्डारी कर्माचार्यको नाममा लगानी गरिएको कर्जामा जग्गा धितो राखिएको दावी सहकारीले गरेको छ।