कैलालीमा क्वारेन्टिनमा अनियमितता : खाना मेसमा, होटलको बिल साढे ३६ लाख
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ ले क्वारेन्टिन व्यवस्थापनको काममा ७३ लाख ८६ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हिसाब सार्वजनिक गरेपछि स्थानीयस्तरमा चर्को विरोध भइरहेको छ। वडा कार्यालयले अस्वाभाविक रुपमा खर्चको हिसाब निकालेको भन्दै क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यहरुले नै आर्थिक हिनामिनाको आशंका गरेका छन्।
वडाध्यक्ष जनक बमको संयोजकत्वमा रहेको क्वारेन्टिन व्यवस्थापन समितिले सार्वजनिक गरेको खर्चको विवरण अस्वाभाविक रहेको भन्दै समितिकै चार जना सदस्यहरुले छानबिनका लागि नगरपालिकामा निवेदन दिएका छन्। वडा कार्यालयले खानाका लागि क्वारेन्टिन स्थल क्याम्पस र विद्यालयमै मेस चलाएको थियो। खाद्यान्नलगायत सामग्री खरिदमा पनि खर्च देखाएको वडा कार्यालयले होटलको बिल भनेर ३६ लाख रुपैयाँभन्दा बढी खर्च देखाएको छ।
खर्च विवरणअनुसार खाद्यान्न सामग्री खरिद भनेर ६ लाख १३ हजार ३३० रुपैयाँ छ। ३६ लाख ११ हजार ६६५ रुपैयाँ खाना–नास्ताको होटल खर्च भनेर पनि खर्च विवरणमा छ। फेरि एक लाख ४८ हजार ६६० रुपैयाँ खाना नास्ता खर्च भनेर छुट्टै हिसाब छ।
एक जना महिला कोरोना संक्रमित देखिँदा गाउँ सिल गरेको र खटाइएका स्वयंसेवकको भत्ता शीर्षकमा मात्रै आठ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ।
यस्तै विभिन्न क्वारेन्टिनमा खटिएका समिति तथा उपसमितिलाई भत्ताबापत एक लाख ९२ हजार रुपैयाँ दिइएको छ। पंखा तथा पाइप खरिद, जडान र मर्मतमा ४ लाख ५२ हजार रुपैयाँ खर्च देखाइएको छ। वडा कार्यालयले कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, मिनरल वाटर र बिजुली खर्च भनेर २ लाख ५२ हजार रुपैयाँ देखाएको छ।
‘भनेअनुसार खर्च भएकै छैन। करिब आधा रकम हिनामिना भएको छ,’ क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य लवबहादुर शाहीले भने, ‘समितिका सदस्यहरुलाई नै जानकारी नदिएर गरिएको खर्चको सत्यतथ्य छानबिन हुनुपर्छ।’
वडाध्यक्ष बमले खाना मेसमा खुवाए पनि केहीलाई होटलबाट ल्याएर खुवाएकोले होटलको बिल बनाएको स्वीकार गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयको टोलीले लम्कीचुहा नगरपालिकामा बुधबार छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।