यातायात व्यवसायीले मनपरी भाडा असुलेको भन्दै नेविसंघ डडेल्धुराद्वारा विरोध
डडेल्धुरा: नेपाल विद्यार्थी संघ डडेल्धुराले यातायात व्यवसायीले मनपरी भाडा असुलेका भन्दै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ। लकडाउन खुकुलो भएसँगै संचालन गरिएका सवारीले मनपरी भाडा असुल गरिरहेकोले भाडादर घटाउनुपर्ने भन्दै नेविसंघ विरोधमा उत्रेको हो।
सरकारले सार्वजनिक तथा अन्य यात्रुवाहक सवारी साधनले क्षमताभन्दा आधा यात्रु बोकी भाडादर पचास प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको भएपनि सवारी साधनमा क्षमता अनुसार कै यात्रु बोकिहेको तर भाडा मात्रै दोब्बर लिने गरेको आरोप नेविसंघको छ।
डडेल्धुरामा चल्ने सार्वजनिक यातायातले पुरानै मापदण्ड अनुसार भाडादर कायम गर्नुपर्ने र सोही अनुसार गाडी संचालनमा आउनुपर्ने डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले बताए। यस्तै भाडादर मापदण्ड अनुसार नलिई गाडी मालिक तथा चालकको मनपरी जारी रहेमा नेविसंघ चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन्।