धनगढी–राजघाट मोहना पुलको निर्माण ६ वर्ष सम्म अधुरै
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट राजघाट जोड्ने मोहना नदीको पुल निर्माण सुरु भएको छ वर्ष हुँदा पनि अझै काम पूरा भएको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरबाट कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीको पुल ६ वर्ष सम्म निर्माण पूरा नभएको हो।
तीन वर्षमा निर्माण सक्नेगरी २०७१ असारमा ठेक्का सम्झौता भएको थियो। तर ६ बर्षको अवधीमा ८० प्रतिशत काम मात्रै सकिएको छ। प्छिल्लो पाँच महिनादेखि पुलको काम ठप्प छ। निर्माण कम्पनीको लापरवाहीका कारण प्रत्येक वर्ष राजघाट क्षेत्रका नागरिक जोखिम मोलेर धनगढी आउन बाध्य छन्।
सडक डिभिजन कार्यालय कञ्चनपुरले तीन वर्षमा काम सम्पन्न गर्नेगरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग ठेक्का सम्झौता गरेको थियो। एक सय २० मिटर लम्बाईको पुल सम्झौताको थप तीन वर्ष सकिदा समेत अधुरै रहेको हो। गत पाँच महिनादेखि पूल निर्माणको काम ठप्प रहेको छ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बमले चैत महिनाको १५÷२० गतेपछि पुल निर्माणको काम रोकिएको बताए। ‘लकडाउन भएका कारण पुल निर्माण रोकिएको छ। निर्माण कम्पनीले उपकरण लगेर गएको छ।’ निर्माण कम्पनीले तोकिएको समयमा काम पूर्ण नगरेपछि तीन पटक समय थपिएको छ।
तेस्रो पटक समय थप गर्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्रै पुगेको छ। सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो। तर पुल निर्माणको सम्झौता भएको ६ वर्ष हुँदा पनि काम नसकिएपछि राजघाट क्षेत्रका स्थानीयलाई धनगढी ओहोर–दोहार गर्न भने सास्ती हुने गरेको छ।
स्थानीय लोकराज ओझाले वर्षातको समयमा नदीबाट धनगढी जान समस्या हुने गरेको बताए। ‘राजघाटको बजार धनगढी हो। औषधी उपचारका लागि पनि धनगढी जान्छौ। एम्बुलेन्स पनि नदीबाट जाँदैन्। अत्तरिया हुँदै धनगढी जानुपर्ने हुन्छ।’ उनले भने।
चालु आर्थिक वर्ष २०७७ को माघ सम्म पुल निर्माणको समय अवधी रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। पाँच महिना देखि निर्माण कार्य बन्द रहेकोमा प्रतिक्रिया माग्न निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्ललाई सम्र्पक गरेपनि उनको फोन बन्द थियो।
सडक डिभिजनले भने माघ सम्म निर्माणको काम पूर्ण हुने दावी गरेको छ। लकडाउनका कारण काम प्रभावित भएको र माघ सम्म पुल निर्माणको काम पूर्ण हुने दावी सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन बमको छ।
‘माघमा काम सक्नैपर्छ। पुरानो पुल हो। हामीले यो वर्ष महत्वपूर्ण रुपमा हेरेका छौ्रँ। काम सक्ने भन्ने थियो। तर भएन्। माघ भित्र नसकिए प्रचलित कानून अनुसार कारवाही गछौँ।’ उनले भने।