धनगढीबाट पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे संघर्ष गर्ने विप्लवको चेतावनी
धनगढी: कैलाली प्रहरीले बुधबार पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ। रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले धनगढीबाट आफ्ना नेतालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न विप्लव समूहले माग गरेको हो।
बुधबार नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले विज्ञप्ति निकाल्दै आफ्ना नेता कार्यकर्तालाई अविलम्ब रिहा नगरे चरणवद्ध प्रतिरोधात्मक संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो। उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।