शिक्षामन्त्रीलाई खुलापत्र: हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरियोस्
-लोकेन्द्र घटाल
शिक्षामन्त्रीज्यू, नमस्कार
विश्वभरी नै अहिले महामारीको रूपमा फैलिएको कोरोनाको कारणले मानिसहरू आक्रान्त छन। झन अहिले त कोरोना हावाबाट पनि फैलिने भनेर विश्व स्वास्थ्य संगठनले नै पुष्टि गरिसकेको छ।
अरू क्षेत्रजस्तै लामो समयदेखि शैक्षिक संस्थाहरू पनि ठप्प छन्। तर सरकारले साउन १ गतेदेखि विद्यालयहरू खोलेर पठनपाठन पुनस् सञ्चालन गर्ने हतारमा निर्णय गरी शिक्षकहरूलाई जसरी पनि साउन १ गतेदेखि विद्यालयमा हाजिर हुन उर्दी जारी गरेको छ।
अझैपनि धेरैजसो सामुदायिक विद्यालयहरू अहिलेसम्म क्वारेन्टाइनमा परिणत भएका छन्। यो बिषम परिस्थितिमा सरकारले स्वास्थ सुरक्षामा ध्यान दिनु जरूरी छ। विद्यालयहरु पुनः सुचारू गर्नुपूर्व डब्ल्युएचओले तय गरेका मापदण्डहरु पूरा गर्न बाँकी नै छ। अरूबेला सबैको उत्तिकै महत्व भएपनि अहिलेको विषम परिस्थितिमा शिक्षाभन्दा पनि स्वास्थ्य बढी महत्वपूर्ण देखिन्छ।
ज्यान र स्वास्थ्य रहे पो पठनपाठन पनि गरौंला। यो अवस्थामा धेरैजसो शिक्षक र विद्यार्थीहरू विद्यालयभन्दा टाढा हुनुहुन्छ। लामो दूरीका सार्वजनिक सवारी साधनहरू दोब्बर भाडामा चलाउनुपर्ने निर्णय सरकारले गरेपनि यातायात व्यवसायीहरू यसमा सहमत नभएकाले अझै चल्न सकेका छैनन्। यो विषम परिस्थितिमा घरभन्दा धेरै टाढा, गाडीमा ५–६ दिन लाग्ने, अहिले बुकिङ गरेर ४०–५० हजार भाडा तिरेर पनि ज्यानको समेत जोखिम मोल्नुपर्ने स्थिति छ।
बरू घरभन्दा धेरै टाढा रहेका शिक्षकहरू स्थिति सामान्य नहुन्जेलसम्म स्वास्थ्य सावधानी अपनाएर घरनजिकैका विद्यालयमा त्यहींका विद्यार्थीहरूलाई पढाउन लगाउनु उचित होला कि ? नेपालको भूगोल र वर्तमान अवस्थाबारे शिक्षामन्त्रीज्यू जानकार नै हुनुहुन्छ होला। शिक्षकहरूले घरमै बसीबसी तलब खाए भनेर इष्र्या गर्नुभन्दा अहिलेको परिस्थितिलाई सहजीकरण गर्नु उचित होला।
किनकि शिक्षकहरू रहरले नभई बाध्यताले घरमा बसेका हुन। फेरि सबै शिक्षकहरू त्यत्तिकैपनि घरमा बसेका छैनन्। कोही क्वारेन्टाइन व्यवस्थापनमा लागिपरेका छन् भने कोही वैकल्पिक माध्यमबाट सिकाइरहेका छन्। भोलि यसरी हतारमा विद्यालय खोलेर टाढाटाढाका शिक्षक, विद्यार्थीहरूलाई बोलाएर विद्यालयजस्तो संवेदनशील र भीडभाड ठाउँमा संक्रमण फैलियो भने यसको जिम्मेवार को हुने ? सुविधासम्पन्न देशहरू द. कोरिया, चीन, हङकङमा एकचोटी स्वास्थ्य सुरक्षा अपनाएर भएपनि हतारमा यसरी नै विद्यालय खोलेर संक्रमण फैलिएपछि पुनः विद्यालयहरू बन्द गरिएको कुरा थाहै होला।
झन नेपालजस्तो स्वास्थ्य, सुविधा, सुरक्षा र चेतनामा पछि परेको देशमा हतारमा यस्तो निर्णय गर्दा यसबाट आउने परिस्थितिको जिम्मेवारी लिन तयार हुनुहुन्छ शिक्षामन्त्रीज्यू? हामी शिक्षकहरू अहिले नै विद्यालय गएर पढाउन तयार छौं। तर त्यसअघि स्वास्थ्यसम्बन्धि विश्व स्वास्थ्य संगठनले तोकेकम सम्पूर्ण मापदण्डहरू पूरा गर्नुपर्यो। हाम्रो स्वास्थ्य र सुरक्षाको जिम्मेवारी लिनुपर्यो, निस्शुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्यो।
यस्तो परिस्थितिमा अभिभावकहरू पनि आफ्ना छोराछोरीलाई निर्धक्क भएर विद्यालय पठाउन सक्ने स्थितिमा छैनन्। यो विषयमा सरकारले गम्भीर रुपमा सोच्नु जरूरी छ। अहिले शिक्षकहरु रहरले नभई बाध्यताले घर बसेका हुन। उनीहरूलाई कसैले दया, मायाले दिएको जागिर होईन। उनीहरूको योग्यता र क्षमताले जागिर खाएका हुन्। त्यसैले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरियोस्।