सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् व्यवस्थापनमा वन तथा वृक्षको भुमिका

२०७७ असार २७, ०२:२१

-श्याम भण्डारी

बाढी पहिरोका घटना र यसका कारणहरु
नेपालमा ८६ प्रतिशत भाग हिमाल तथा पहाडले ओगटेको छ भने केवल १४ प्रतिशत भूभाग मात्र समथर तराई छ। यहाँ संसारकै अग्ला हिमालहरुबाट तराईका फाँट पुग्न मात्र २०० किलोमिटरको हवाई दूरी पार गर्नुपर्छ। अहिले वर्षातको मौसम शुरु भइसकेको छ। नेपालमा असारदेखि भदौसम्मका वर्षाती तीन महिनामा मात्र वार्षिक वर्षाको जम्मा ८० प्रतिशत वर्षा हुन्छ। धेरै मात्राको पानी एक्कासी छोटो दूरीमा तराई पुग्न हिमाल र पहाड देखि द्रुत गतिमा ओरालो झर्नुपर्ने हुन्छ। यसले गर्दा वर्षातमा तराईमा बाढी, डुबान र कटान हुनेगर्छ।

पहाडमा पहिरो र नदी छेउमा बाढी, डुबान तथा कटानजस्ता विपद्का घटनाहरु धेरै हुने गरेका छन्। यसैपालीको वर्षातमा पनि बाढी तथा पहिरोले हालसम्म २३ जनाको ज्यान गइसकेको र ३५ जना भन्दा बढी बेपत्ता भएका छन्। भने, त्यसबाट करोडौँको सम्पत्ति क्षति भइसकेको छ। विगतमा पनि २०७० सालमा दार्चुलाको खलङ्गा बजार बाढीले बगाएको, २०७१ मा सिन्धुपाल्चोक जुरेको पहिरो तथा बर्दिया र सुर्खेतमा बाढी, २०६९ मा सेती नदीमा आएको बेमौसमी बाढी र केही वर्ष अगाडीसम्म सधैँजसो काठमाण्डौँ आउने बाटोमा कृष्णभीरको पहिरोका घटनाहरुले धेरै धनजनको क्षति भएको सबैलाई जानकारी नै छ।

भौगोलिक अवस्था र भिरालोपनका कारण पहाडमा पहिरो र तराईमा बाढी र डुबान नेपालीका आम समस्या भइसकेका छन्। एकातिर प्राकृतिक रुपमै हामी संवेदनशिल क्षेत्रमा छौँ। यसका साथै भौतिक पूर्वाधारको कमी, उपयुक्त भूउपयोग नीति तथा योजना नभएको वा भएका नीति तथा योजना पनि कार्यान्वयन नहुने, विकास निकायहरु बिच सहकार्य र समन्वय नहुने, जनतामा चेतनाको कमि, विपद व्यवस्थापनको पर्याप्त तयारी नहुने कारण वर्षैपिच्छे जनताले दुख पाइरहन्छन्। हाम्रा योजना, विकास, प्राकृतिक श्रोत तथा विपद व्यवस्थापन कार्यहरु जलाधारमा आधारित नभएकोले पनि यी समस्याहरु आईरहेका छन्।

पर्याप्त अध्ययन र विश्लेषण विनाका विकासका क्रियाकलापहरुले विनाश निम्त्याइरहेको छ। पहाडका जताततै डोजरले खनेर प्रकृती क्षतविक्षेत भइरहेको छ। कुनैपनि विकासका क्रियाकलापहरु गर्दा वातावरणमा केही असर नपरोस र परेको केही असर पनि न्यूनिकरण गर्ने काम होस भनी वातावरण प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणको व्यवस्था गरिएको छ। तर कतिपय अवस्थामा यस्ता कामहरु कर्मकाण्डी बनेका छन् भने कतिपय अवस्थामा त वातावरणीय असरको अध्ययन त परै जाओस प्राविधिक योजना विनानै सडक बनाउने गरिन्छ। बजार वा बस्तीहरु पनि पहिरो वा बाढीको आँकलन नगरी जथाभावी बसेका छन्। एकदम भिरालो जमिनमा समेत खनजोत र घनिभूत कृषिकर्म भईरहँदा भूक्षय हुने गरेको छ। 

यसका साथै जलवायु परिवर्तनको असरले चरम खालका मौसमी क्रियाकलापहरुमा वृद्धि भइरहेको छ। कहिले अतिवृष्टि, कहिले अनावृष्टि, असिना, हुरीबतास ईत्यादीका घटनाहरु बढीरहेका छन्। पछिल्ला २० वर्षमा विश्वमा भएका विपदका ठूला ठूला घटनाहरुमध्ये ९० प्रतिशत घटनाहरु मौसम सम्बन्धी घटनाहरु छन्। यसले मानिसलाई मात्रै होइन प्रकृतिलाई नै असर पारेको छ। वनजंगल विनाश, अनियन्त्रीत विकास, नदी उत्खनन र भारतीय बाँधहरुले बाढी र पहिरोको जोखिम बढेको छ। एकातिर प्रकृतिको दोहनले बाढी, डुबान, कटान, पहिरो, माटो क्षयिकरण जस्ता विपदका घटनाहरु बढाईरहेका छन् भने अर्कोतिर विपदका घटनाका कारण मानिसको जनधनको क्षति र प्राकृतिक श्रोत विनाश पनि भइरहेको छ। 

बाढी पहिरो रोकथाम र नियन्त्रणमा वनको भूमिका
विपद जोखिम कम गर्न भौतिक संरचनाहरुको निर्माण गर्ने गरिन्छ। तर प्रकृतिको संरक्षण यसको प्रभावकारी उपाय हो भन्नेमा न त राज्यको ध्यान गएको छ, न त जनताको ध्यान गएको हुन्छ। बाढी पहिरो रोक्ने भन्ने बित्तीकै त्यहाँ कन्क्रीटका भित्ता वा बाँध निर्माण गर्ने कुराहरु मात्र आउँछन्। तर यस्ता संरचना एकातिर महँगा हुने, प्रविधि तथा यन्त्र पनि आयात गर्नुपर्ने, कतिपय ठाउँ र अवस्थामा मजदुर पनि मगाएर काम गर्नुपर्ने हुन्छ।

तसर्थ हामीले कतिपय अवस्थामा वन संरक्षण, वृक्षारोपण र रुखबिरुवाबाट पनि विपद जोखिम व्यवस्थापन गर्न सक्छौँ जुन भरपर्दो, सस्तो र दिर्घकालिन पनि हुन्छ। जलाधारका, भिरालो ठाउँ र नदी किनारका वन संरक्षण गर्नुपर्छ। बाढी, पहिरो, डुबान तथा कटान हुने क्षेत्र, सिमसार क्षेत्र जस्ता संवेदनशिल क्षेत्रका वनहरु संरक्षणमा पनि विशेष ध्यान दिनुपर्छ। वन तथा पारिस्थीतिकीय प्रणालीका विभिन्न सेवाहरु मध्ये विपद, भूक्षय, जलवायु नियन्त्रण तथा सन्तुलन गर्ने मुख्य कार्यहरुको बारेमा जान्न र जानकारी दिन आवश्यक छ। 

विपद व्यवस्थापन र न्यूनिकरणमा वन तथा रुखबिरुवा धेरै उपयोगी हुन्छन्। पहाड तथा चुरेमा वन संरक्षण गर्नाले भूक्षय रोक्नमा धेरै सहयोगी हुन्छ। यसले भिरालो जमिनलाई स्थिर बनाउने, पहिरो र माटोको क्षयिकरणलाई रोकेर विपदबाट बचाउने काम गर्छ। रुखबिरुवाका जराहरुले माटोलाई बाँधेर राखेको हुन्छ। यसले पानीलाई शोषण गरि संचित गर्छ र धेरै बग्न दिँदैन।

रुखका पातहरुले वर्षाको पानी सिधै जमिनमा ठोक्कीनबाट छेक्छ जसले माटो क्षयिकरण हुन कम गर्छ। रुखबिरुवाले पानीको भेलको गति कम गर्छ, माटो बग्न कम गर्छ र बगेको माटो पनि रोक्छ। साथै रुखबिरुवाले कार्बन संचित गर्ने, माटोको आद्र्धता र जैविक वा प्राङ्गगारिक पदार्थ संरक्षण वा वृद्धि गरि उर्वराशक्ति बढाउँछ। यसले वनजंगलमा नयाँ बोटबिरुवा हुर्कन मद्दत पु¥याउँछ। प्राङ्गगारिक पदार्थ प्रशस्त भएको माटोको पानी शोषण गर्ने र संचित गर्ने क्षमता पनि बढी हुन्छ भने माटोका कणहरु पनि बलियो गरि जोडिएर बसेका हुन्छन् जसले गर्दा भूक्षय हुने जोखिम पनि कम हुन्छ। 

त्यसैगरि नदी र खोलानालाको किनारमा भएको वन तथा रुखबिरुवाले नदी कटान नियन्त्रण गर्छ। यसले बाढीको पानी गाउँबस्तीमा छिर्न न्यूनिकरण गर्ने  र खोलालाई आफ्नो धारमा बग्न मार्गदर्शन गर्ने कार्य गर्छ। तराईमा वनजंगल तथा सिमसार क्षेत्रले वर्षातको भेलको गति कम गर्ने, पानी संचित गरि यसको परिमाण कम गर्ने र पछिका लागि पानीको भण्डारको रुपमा काम गर्छ।

वनजंगल, सिमसार क्षेत्र तथा झाडीबुट्यान भएका घाँसे मैदानले बाढीसंगै बगाएर ल्याएका गेग्रान र बालुवालाई पनि रोक्ने र स्थिर गराउँछ। पहाडबाट आएको मसिनो, रसिलो र पोषिलो माटोले तराईका फाँटहरु उर्वर बनाउँछ। वर्षातका बेला गाउँबस्तीमा डुबान पर्दा रुखहरुमा चढेर पनि ज्यान जोगाउन सकिन्छ। बर्दीयामा सन् २०१४ मा बाढी र डुबानका कारण कतिपयले घरआँगन र खेतबारीमा भएका रुखहरुमा चढेर पनि ज्यान जोगाउन सफल भएका थिए। 

समुद्री किनारका देशहरुमा पनि म्याँग्रोभ(mangrove)को जंगलले समुद्री छाल तथा आँधी नियन्त्रण गर्न सहयोग गर्ने भएकोले उक्त जंगलको संरक्षण गर्ने र थप वृक्षारोपण मार्फत वनलाई हरित संरचनाको रुपमा उपयोग गर्ने गरिन्छ। जापानले त सुनामी पछि यसलाई अभियानकै रुपमा लगेको छ। प्राकृतिक तथा हरित संरचना बनाउन केही समय लागे पनि दिर्घकालिनरुपमा भौतिक संरचना भन्दा यो सस्तो र प्रभावकारी हुन जान्छ। धेरै हुरीबतास चल्ने सुख्खा तथा मरुभूमिका ठाउँहरुमा पनि हुरी बतास रोक्नका लागि वन प्रजातीकोे उचाई अनुसारका विभिन्न पंक्ति बनाएर windbreak बनाईन्छ। आजकल पारिस्थितीकिय प्रणालीमा आधारित वा प्रकृतिमा आधारित विपद व्यवस्थापन र जलवायु अनुकुलनको अवधारणाले विस्तारै गति पाईरहेको छ। 

विपद पश्चात पनि वन उपयोगी हुन्छ
विपद रोक्न, न्यूनिकरण गर्न मात्रै होइन विपद पश्चातको अवस्थामा पनि वनजंगलको धेरै महत्व रहेको छ। विपद पश्चात खाद्यान्नको कमि हुँदा वनजंगलबाट फलफुल, कन्दमूल र सागतरकारी जस्ता खानेकुरा संकलन गर्न सकिन्छ। यसले समुदायको खाद्य सुरक्षा बढाउँछ। वनजंगल घाँस तथा चरनको श्रोत भएकोले पशुपालन गरेर आम्दानी गर्न सकिन्छ। विपदबाट तहसनहस भएका संरचनाहरु पुननिर्माण तथा मर्मत गर्न पनि वनजंगलले काठ, बाँस, खर तथा अन्य सामग्री उपलब्ध गराउँछ। भूकम्पको बेला होस कि बाढी पहिरोको बेला यस्ता सहयोगहरु वनले धेरै गरिरहेको हुन्छ। यसका साथै वनमा निर्भर समुदायक तथा घरधुरीको जीविकोपार्जन तथा आम्दानीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ जसले गर्दा उत्थानशिलता बढ्ने र जोखिम कम गर्न सघाउ पुग्छ। 

के गर्ने ?
वनमार्फत विपद जोखिम व्यवस्थापन गर्न सकिने भएकोले यसको संरक्षण, दिगो व्यवस्थापन तथा सदुपयोग गर्न जरुरी छ। यद्यपि वन तथा प्रकृतिमा आधारित समाधानका पनि आफ्नै सिमितता भने छन्। हरित संरचनासंगै भौतिक संरचनाको तालमेल मिलाएर बढी जोखिम भएको स्थानमा विपद व्यवस्थापनलाई थप मजबुत बनाउन सकिन्छ। संवेदनशिल क्षेत्रजस्तै नदीकिनार, सिमसार क्षेत्र, गाउँबस्ती नजिक, चुरे क्षेत्र ईत्यादीको वनलाई विशेष संरक्षण गर्नुपर्छ भने अन्य क्षेत्रको वनलाई उत्पादनका लागि दिगोरुपमा व्यवस्थापन गर्न सकिन्छ। पहाडको भिरालो जमिनमा भएको वनलाई पनि उचित व्यवस्थापन गर्नुपर्छ। बाढीपहिरो लाग्ने स्थानहरु पहिचान गरि त्यहाँ वरपरका वनजंगलमा कटानी फँडानी गर्न दिनु हुँदैन। 

बाढी लाग्ने तथा कटान हुने नदी किनारका जमिन तथा पहिरो जाने ठाउँमा बाँसका झाङहरु रोप्नुपर्छ। बाढी तथा डुबान लाग्ने वरपरका जग्गामा अन्नबाली भन्दा उखु तथा फलफुल खेती,डालेघाँस वा काठ प्रजातिका रुखहरु लगाई निजी वन बनाउन सकिन्छ। यसले आम्दानी हुने, बाढी नियन्त्रण गर्न सहज हुने, डुबानबाट बालीलाई असर नहुने, मानिसलाई पनि डुबानको समय बचाउन मद्दत गर्ने र खाद्य सुरक्षामा पनि सहयोग गर्छ। त्यसैगरि नदी उत्खनन व्यवस्थापन पनि गर्न जरुरी हुन्छ। अवस्था हेरी कतिपय ठाउँमा बालुवागिट्टी निकाल्नु पर्ने हुनसक्छ भने कतिपय ठाउँमा उत्खनन गर्न रोक लगाउनुपर्छ।

वनजंगल मार्फत विपद व्यवस्थापन एक सस्तो र भरपर्दो उपाय हो साथै यसका सह–लाभहरु पनि उत्तिकै छन्। तसर्थ, यसलाई विपद जोखिम व्यवस्थापनमा महत्व दिनका लागि तिनै तहका सरकारले एक आपसमा समन्वय गर्दै अन्य सरोकारवालाहरुसंग मिलेर हाम्रो परिवेश सुहाउँदा विपद व्यवस्थापन नीति तथा कार्यक्रमहरु ल्याउन ढिलाई गर्नुहुँदैन। जलवायु अनुकुलन र विपद व्यवस्थापन योजनामा प्रकृतिमा आधारित समाधानका रणनीतिहरु निर्माण गर्नुपर्छ र यस्ता योजनाहरुलाई नियमित विकासका योजनाहरुमा मूलप्रवाहिकरण गरेर चुस्त कार्यान्वयन गर्न सक्यौँ भने विपदबाट धेरै हदसम्म बच्न सकिन्छ।
अन्त्यमा, विपदबाट बच्न वनको संरक्षण र दिगो व्यवस्थापन गरौँ, आफ्ना वरपर रुखबिरुवा लगाऔँ। जय संरक्षण । 

(वन प्राविधिक भण्डारी फरेस्ट एक्सन नेपालमा कार्यरत छन्)
 

कमेन्ट लोड गर्नुस