सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वर्षाले अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

२०७७ असार २२, ११:२७ रासस

बाजुरा : लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ। भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ। पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो। 

साँफे मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिकरुपमा बन्द भइरहने गरेको छ भने मार्तडी कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ। मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ। बाउली खोलाले पूरै बाटोका निशाना नै मेटाएर बगर बनाएको छ, भने चुथीदेखि माथिको सडकमा माथिबाट आएको पहिरो खसेर सडक भासिएको छ। बीचमा पुगेको सवारीसाधन अलपत्र अवस्थामा छन्। 

ट्र्याक्टर बिचमै रोकिएपछि चालकसहितसँगै लिएको सामानसमेत अस्तव्यस्त अवस्थामा रहेको छ। पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँधुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ। खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ।   

यस्तै मार्तडी गौमुल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाडाँै गुदुखातीलगायतका क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ। वर्षाले ठाउँठाउँमा पहिरो गएको र घरमाथिबाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन्। लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउने बित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्।

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिकरूपमा बाटो, घर, सडक सिँचाइ कुलो भत्किएर लाखौँको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गाई गोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुस्किल बनेको छ। पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईको भनाइ छ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ। भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ। कालोपत्रे गरिएको साँफे मार्तडी सडकको मार्तडी बजार क्षेत्र नजिकै पूर्णरूपमा क्षति भएको छ। पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताए। 

मुसलधारे वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गरी सबैले आ–आफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिएको छ। यस्तै मार्तडी बजार क्षेत्रभित्र दुनीहाट बजार र खेलकूद आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ।
 

कमेन्ट लोड गर्नुस