सुदूर नेपाललाई विश्वसँग जोड्दै

शून्य

२०७७ असार १९, १०:२९

यस श्लोक 

म हिँड्दा हिँड्दै लडिएको नि सुनाउनु,
म लड्दै उठ्दै अघि बढिएको नि सुनाउनु,
लत्याइएँ कतिचोटी शून्यमा तल खसेँ पनि,
कसैको नजरमा माथि चढिएको नि सुनाउनु, 

सुनाउनु मेरा हजारौं हारका किस्साहरु,
हर दोष अनि हर गल्तीमा मेरा हिस्साहरु,
म टुक्राटुक्रा भएर तोडिएको नि सुनाउनु,
चर्किएको निशानसंगै म जोडिएको नि सुनाउनु,
म लड्दै उठ्दै अघि बढिएको नि सुनाउनु, 

जे मनले भन्छ सबै पूरा गरेँ,
आत्मसम्मानको लागि पूरा गरेँ,
माफ गरेँ, झुकेँ अनि कहिले चुकेँ,
क्रोध पूरा गरेँ, प्रतिशोध पूरा गरेँ,
माया.....माया अधुरो रहन दिएँ,
दुई आँखामा आँसुको जिम्मेवार म तर,
तीन ओंठमा मुस्कान अडिएको नि सुनाउनु,
म लड्दै उठ्दै अघि बढिएको नि सुनाउनु, 

म शून्यमा सवार छु,
शून्यदेखि सुरु अनि शून्यमै हार्छु,
समयसंग म धेरैचोटि हारेको नि सुनाउनु,
म आफुसंग कहिल्यै नहारेको नि सुनाउनु,
सुनाउनु मेरो जीवन सबै,म मुस्कुराउँदै हुनेछु,
ती मीठा यादहरु र गुनासोमा रमाउँदै हुनेछु,
दुनियाँ माथि मेरो जीतको आभास पाउनेछु,
जुन दिन यस धर्तीबाट अवकाश पाउनेछु,
उपहारमा मैले सिंगो आकाश पाउनेछु,
उपहारमा मैले सिंगो आकाश पाउनेछु।
 

कमेन्ट लोड गर्नुस