सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा रहेका मतदाताको मताधिकारबारे निर्वाचन विज्ञसँग छलफल

२०८३ भदौ २४, ०५:५४ खबर संवाददाता

काठमाडौँ: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरोकारवालासँग आज छलफल गरेको छ ।

छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता थियो । कार्यक्रममा हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, इन्टरनेट मतदान तथा सूचना प्रविधि–सहयोगी हुलाक मतदानलगायतका सम्भावित विकल्प तथा तिनका अवसर, चुनौती र कार्यान्वयनका पूर्वशर्तबारे छलफल गरिएको थियो ।

त्यसैगरी, मतदाता पहिचान तथा प्रमाणीकरण, एक व्यक्ति–एक मत, मतपत्रको गोपनीयता, साइबर तथा सूचना प्रविधि सुरक्षा, प्रणालीको विश्वसनीयता तथा लेखापरीक्षण, लागत, मतदाता शिक्षा, जनशक्ति, परीक्षण र चरणबद्ध कार्यान्वयनलगायतका विषयमा विज्ञहरूको अनुभव, धारणा र सुझाव प्राप्त गरिएको आयोगले जनाएको छ ।

कार्यक्रममा निर्वाचन आयुक्त डा राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा विश्व अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कमेन्ट लोड गर्नुस