सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको पर्यटन र हामी

रारा ताल
रारा ताल
२०७७ असार १८, ०१:२२

-गणेश थापा

नेपालको उभो गतिमा लाग्न खोजिएको पर्यटनलाई सायद प्रकृतिको पनि त्यति साथ छैन र हेर्दाहेर्दै यहि दशकमा मदुई ठुला विपत्तिले नेपालको उभो गतीमा हिड्न खोजिरहेको पर्यटनलाई थिच्न सफल रहयो प्रकृती। २०७२ मा विनाशकारी भुकम्पको रुपमा भने अहिले कोरोनाको कहरको रुपमा।

उसो त २०७२ को विनाशकारी भुकम्पले नेपाललाई मात्र असर गरेको थियो भने यस पटकको कोभिड –१९ ले सायदै विश्वको कुनै कुना छोएन होला। तर पर्यटनलाई असर यि दुई घटनाले मात्र पारेन। नेपालको मात्र होईन विश्व पर्यटनलाई हेर्ने हो भनेपनि सन २००३ मा फैलिएको शार्सरोग, लगत्तै वर्डफलु, स्वाईनफलु, ईबोला जस्ता महामारीले विश्व पर्यटनमा असर पारेको देखिन्छ। 

पछिल्लो अध्ययन हेर्ने हो भने सन २००३ मा फैलिएको सार्सले विश्व पर्यटनलाई ठुलो धक्का दिएको थियो र करिव करिव ४ महिनासम्म पर्यटकहरुले घुमफिरलाई ठप्प पारेका थिए। विश्व पर्यटनले यो चार महिनामा व्यहोरेको क्षतिबाट उम्किन करिब दुई बर्ष लागेको थियो। अहिलेको नेपालको अवस्था हेर्ने हो भने कोरोनाले हालसम्म मानविय क्षती त्यति धेरै गर्न सकेको छैन् तर पर्यटन क्षेत्रको क्षति भने सन २००३ कै चर्काे हुने अनुमान सहजै गर्न सकिनेछ र जसको क्षतिबाट उम्कन हामीलाई बर्षाै लाग्नेछ।

नेपाल सरकारले २० लाख पर्यटकलाई नेपाल भित्राउने लक्षसहित महत्वकांक्षी योजना अर्थात नेपाल भ्रमण वर्ष २०२० मनाउन थालेको थियो तर कोरोनाको कारण बिचमै स्थगित गर्नुपरेको थियो। नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारको लक्ष केवल २० लाख पर्यटक भित्राउने मात्र थिएन उनीहरुको नेपालको सरदर बसाईलाई लम्बाउने अर्थात सरदर बसाई १५ दिन पुगाउने र उनीहरुको नेपालको सरदर खर्च बढाउने अर्थात ७८ डलर प्रतिदिन पुगाउने लक्षका साथ विभिन्न कार्यक्रमहरु तय गरिएका थिए। त्यसका लागि धेरै पर्यटन व्यवसायी, उद्यमी र लगानीकर्ताहरुले लगानी लगाएका थिए। अब ती लगानीहरुको भविष्य माथि प्रश्न चिन्ह मडारिरहेको छ।

नेपालीका पर्यटनको सिजन भनेको सेप्टेम्बर/अक्टोवर हाे। यो सिजन तेश्रो मुलुकबाट आउने पर्यटकहरुको लागि उपयुक्त सिजन मानिन्छ। तर यो वर्ष कोरोनाको कारण आगामी सिजनको लागी बुकिंग गरिएका जम्मा बुकिंग मध्ये ९० प्रतिशत बुकिंग रद्द भईसकेको छ। यसको आधारमा भन्ने हो भने पनि यो बर्ष नेपाल आउने पर्यटकहरु मध्ये करिव ९५ प्रतिशत पर्यटकहरु नेपाल आउने छैनन्। यस कारणपनि अनुमान गर्न सकिन्छ कि सन २०२० नेपाली पर्यटनका लागि ईतिहासकै सबैभन्दा खराव वर्ष हुनेछ।

हाम्रो अगाडीको विकल्प
हरेक समस्याभित्र समाधान लुकेको हुन्छ भने जस्तै समस्याग्रस्त पर्यटनलाई हामी आफैले उठाउनु पर्नेछ। त्यसका लागि हामीले आजैदेखि दिगो पर्यटनका लागि पहलकदमी सुरु गर्न आवश्यक देखिन्छ। सर्बप्रथम अहिलेको हाम्रो पर्यटनको ट्रेण्ड के हो ? कस्तो छ ? यसको अध्ययन आवश्यक छ र भविष्यमा पर्यटनको ट्रेण्ड कस्तो हुनेछ भनेर प्रक्षेपणगरि त्यसको आधारमा भविश्यका लागि दिगो पर्यटनको खाका तयार गर्न आवश्यक छ।

विश्व पर्यटनलाई नजिकैबाट नियाल्ने विश्व पर्यटन काउन्सिलको अध्ययन अनुसार नेपालको पर्यटनमा अन्तराष्ट्रिय पर्यटकले ३५ प्रतिशत हिस्सा ओगट्ने गरेको देखाउछ। भने आन्तरिक पर्यटकले ६५ प्रतिशत हिस्सा ओगटेको देखाउँछ। अर्काे अध्ययन अनुसार आन्तरिक र बाह्य पर्यटकहरुको सरदर खर्चमा पनि बाह्यभन्दा तुलनात्मक रुपमा आन्तरिक पर्यटकहरुले ५ डलर बढी खर्च गर्ने गरेको तथ्यांकले पनि नेपालको लागि आगामी दिनको पर्यटन भनेको आन्तरिक पर्यटन हो भन्ने देखाउँछ।

हामीले गर्नुपर्ने कामहरु 
दक्षजनशक्तिको सुरक्षा: सर्वप्रथम पर्यटन क्षेत्रमा आवद्ध दक्ष जनशक्तिलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य मात्र होईन हामी सबैको भविष्य पनि हो। लामो समय यस क्षेत्रमा अनुभव लिएका दक्ष जनशक्तिहरु यस संकटको घडीमा पेशा परिवर्तन गर्न बाध्य हुन सक्दछन्। यदि उनीहरुले पेशा परिवर्तन गरेमा वा छोडेमा पुनः त्यो जनशक्ति तयार गर्न समय लाग्नेछ। त्यसैले सम्बन्धित निकाय र सरकारले ती दक्ष जनशक्तिको सुरक्षाको लागि पहल थाल्न आवश्यक देखिन्छ।

पर्यटन व्यवसायीहरुको सुरक्षा : पर्यटन उद्यमीहरुको अर्बाै रुपैँया पर्यटन उद्योगमा लगानी लागेको छ झन नेपाल भ्रमणर्वको पूर्वसन्धयामा भनौं या यो अभियानमा सहयोग गर्न थप लगानीहरु लागेको छ।  कोरोनाको कारण यो सन २०२०को वर्षमा कुनै पनि कारोबार हुने देखिदैन। यस्तो अवस्थामा पर्यटन व्यवसायीहरु र उद्यमीहरु पलायन हुनसक्छन्। यसलाई रोक्न सरकार एवं सम्बन्धित सरोकारवालाहरुको भुमिका हुनुपर्दछ।

पर्यटन पुर्वाधारहरुको तयार: अहिलेको अवस्था हेर्ने हो भने नेपाल आउने पर्यटकहरुको आगमन दरलाई पुनः यहि अवस्थामा फर्कन ३–४ वर्ष लाग्न सक्छ। यसलाई हामीले असरको रुपमा लिन सक्नुपर्दछ। यो अवधिमा हामीले नयाँनयाँ पर्यटकिय स्वाद दिनका लागि नयाँ नयाँ पर्यटकिय गन्तव्यहरुको पहिचान एवं सम्पूर्ण पूर्वाधार तयार गरी प्रचारप्रसारमा ल्याउन सक्नुपर्दछ।

मानसिक दवावको कारण अवको केही वर्षसम्म मानिसहरु लामो दुरीको यात्रा गर्न चाहने छैनन्। त्यसैले धेरैभन्दा धेरै आन्तरिक पर्यटनका लागि लाग्न उपयुक्त हुन्छ भने बाह्य पर्यटकको रुपमा भारत तथा एसियाली मुलुकहरुलाई लक्षित गर्नु उपयुक्त हुन्छ होला।

र अन्तमा, कोरोनाको कारण पर्यटकहरु मानसिक रुपमा त्रसित भएको कारण लामो दुरीको यात्रा धेरै कमले गर्नेछन्। थोरै समयको लागि गर्नेछन् र ठुलो समुहमा नभएर स–सानो समुहमा भ्रमण गर्नेछन भन्ने अनुमान सहजै लगाउन सकिन्छ। त्यसैले हामीले पनि पर्यटन प्रवद्र्धनको तयारी गर्दा यी कुरालाई मध्यनजर गर्न आवश्यक देखिन्छ। छोटो दुरी, छोटो समय, सानो समुहको लागि लक्षितगरी प्याकेज बनाउन आवश्यक देखिन्छ।

विश्व पर्यटन काउन्सिलको अध्ययन अनुसार नेपालको कुल पर्यटकको ६५ प्रतिशत अंश आन्तरिक पर्यटकहरु रहेको देखाएको कारण पनि नेपालमा आन्तरिक पर्यटनलाई बढावा दिन पर्यटनकर्मी, पर्यटन प्रेमीले ध्यान दिन आवश्यक देखिन्छ। भने सरकारले पनि आन्तरिक पर्यटनलाई बढावा दिने निती तथा कार्यक्रमहरुलाई प्राथमिकता दिन आवश्यक देखिन्छ।
    

कमेन्ट लोड गर्नुस