बैकर्स क्लब धनगढीलाई सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको उपाधि
धनगढी:धनगढीमा नयाँ वर्षको अवसर पारेर आयोजित सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको उपाधि बैकर्स क्लब धनगढीले जितेको छ। फ्ल्याटल्याण्ड फुटसलद्वारा आयोजना गरिएको मैत्रीपूर्ण अन्तर–संस्था प्रतियोगिताको फाइनल खेलमा बैकर्स क्लबले फारवेष्ट पशुपति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा बैकर्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो। उपाधिसँगै बैकर्स क्लबले नगद २२ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता फारवेष्ट पशुपति युवा क्लबले नगद १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।
प्रतियोगितापछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सन्तति आईभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष तथा द गार्डनर प्याराडाईस स्कुलका प्रिन्सिपल अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इन्जिनियर राजन राना लगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरे।
नयाँ वर्ष २०८३ को अवसरमा समाजमा आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्नुका साथै विभिन्न संघ–संस्थाबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए।
प्रतियोगिताको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर रहेको थियो भने शुभश्री प्यालेस, किसान ट्रेडिङ (होण्डा), द गार्डनर प्याराडाईस स्कुल र अरवान भट्टीले पनि प्रायोजनमा सहयोग गरेका थिए।
यसैबीच, सन्तति आईभिएफ सेन्टरले धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा सुरु गरेको जनाएको छ। निसन्तान दम्पतीलाई लक्षित गर्दै स्थापना गरिएको केन्द्रले आईभिएफ, आईयुआई, बाँझोपनसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको छ। अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिइरहेको केन्द्रले जनाएको छ।
विशेषगरी सुदूरपश्चिम क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा आएको यस केन्द्रले अब प्रजनन उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता हटाउने विश्वास लिएको छ।