के हो सलह किरा ?
-धर्म पन्त
सलह एक प्रकारको शाकाहारी किरा हो जसको शारिरिक बनोट फट्याङग्रा जस्तै हुन्छ। यसको सिङ छोटो हुन्छ र यसका पछाडिका खुट्टा दरा र मोटा हुन्छन्। यसलाई अग्रंजीमा डेजर्ट लोकस्ट भनिन्छ भने यसको वैज्ञानिक नाम सिस्टोसर्स ग्रेगारिया हो। किराको घनत्त्व कम भएको अवस्थामा फट्याङग्रा जस्तै व्यवहार देखाउने सलह किरा घनत्व बढेमा शारिरिक र व्यवहारिक परिवर्तन ल्याई ठुलो समुह बनाएर बस्दछन। सलह विशेष गरेर अफ्रिका, मध्यपूर्व र एसियामा पाइन्छ।
इतिहास
सलहको उत्पत्ती र अस्तित्व्को इतिहास परापूर्वकाल देखी नै रही आएको देखिन्छ। प्राचिन मिस्र्, बाइबल्, महाभारत्, कुरान्, र थुप्रै अन्न्य प्राचिन ग्रन्थहरुमा सलहको बिबरण पाईन्छ। गत सताब्दिको इतिहासमा सलहले सन् १९२६–१९३४, १९४०–१९४८, १९४९–१९६३, १९६७–१९६९, १९८६–१९८९ र २००३–२००५ मा ठुला बिपत्तीहरु निम्त्याएको सँयुक्त राष्ट्र संघको कृषि तथा खाद्यान्न संगठनले जनाएको छ।
जीवन चक्र
सलहको जीवन तीन चरणमा पुरा हुन्छन् फुल, होपर र वयस्क। पोथी सलहले जमीन सतह भन्दा १० देखि १५ सेन्टिमिटर गहिराइमा एक पटकमा ८० देखि १५० सम्म फुल पार्दछ। एउटा पोथी सलहले आफ्नो जीवन कालमा तीन चोटी सम्म फुल पार्दछ। फुलवाट होपर वन्न १० देखि २० दिन लाग्दछ। फुलवाट निस्केको किरामा पखेटा हुदैन र त्यो चरणलाई होपर भनिन्छ। होपरमा शारिरिक विकास सँगै पखेटा पलाउछ र ४ देखि ६ हप्तामा होपरवाट सलह एक वयस्कमा परिणत हुन्छ। वयस्क भएको तीन हप्तामा सलहले फुल पार्न थाल्दछ। यसरी सलहको जीवन चक्र पुरा हुन ३ देखि ५ महिनासम्म लाग्छ।
यात्रा
सलहले हावाको दिशामा एक दिनमा १५० किलोमिटर सम्मको यात्रा गर्न सक्छ। सन् २०१९ को सुरुवात तिर सलहले आफ्नो यात्रा अफ्रीकाबाट सुरु गरि यमन, साउदी अरेवीया, इरान, पाकिस्तान हुदै भारत सम्म पुगेर पुनः अफ्रीका फर्किएको थियो। विशेषगरि वर्षको जुलाई-अक्टोबर महिनामा एसियामा सक्रिय हुने सलह यस वर्ष अप्रिल महिनामा भारत पाकिस्तानको सीमामा देखिएको थियो। १५ अप्रिलमा राजिस्थान सम्म आइपुगेको सलह मे महिनामा मध्यप्रदेश र महाराष्ट्रमा सक्रिय भयो।
विनाश
एउटा बयस्क सलहले एक दिनमा आफ्नो शरिरको बजन बराबरकै हरियो बनस्पति खाने गर्दछ। एउटा बयस्कको तौल लगभग दुइ ग्राम हुन्छ। एक वर्ग किलोमिटर क्षैत्रफलमा ४ देखि ८ करोड संख्यामा हुने यि सलह किरा ०.५ वर्ग कलोमिटर देखि सय भन्दा बढी वर्ग कलोमिटर क्षेत्रफलसम्म फैलिएको हुन्छ। यि सलह जहाबाट पनी जान्छन पुरै बनस्पति सखाप पार्दछन। सलहले प्रत्यक्ष रुपमा मानिस वा जनवारलाई भने क्षती गर्दैनन्।
एक दिनमा सलहको वयस्क समुहले ३५ हजार मानिसलाइ एक छाक खान पुग्ने बराबरको अन्नबाली नस्ट गर्ने अनुमान गरिएको छ। वर्ष २०१९ मा भारतमा मात्रै चार लाख हेक्टर जमिनमा लगाइएको बोट बिरुवा सलहले नस्ट गरेको र सन् २०२० को मे महिना सम्म दुइ लाख हेक्टर जमिनमा क्षती पुर्याएको तथ्यांक भारतीय स्रोतले जनाएको छ। सन् २०२० मा पाकिस्तानका थुप्रै क्षैत्रपनि सलहको समस्याबाट तनाबग्रस्त छन्।
नेपाल प्रवेश
छ दशक अगाडी नेपालका विभिन्न ठाउँमा देखिएको सलह पुनः यो वर्षको जून महिनामा नेपालमा देखिएको छ। भारतका उत्तराखण्ड र उत्तरप्रदेशमा सिमित रहेकोको सलह हावाको वहावसँगै नेपालका तराई जिल्लामा देखा परेको हो। न्यानो हावा पानीमा बस्न रुचाउने सलह बिगत केहि वर्ष देखि जलबायु परिवर्तनका कारण संख्यामा आठ हजार गुणा बढेको संयुक्त राष्ट्र संघको कृषि तथा खाद्यान्न संगठनले जनाएको छ।
समाधान
सलह किराको समस्याले बिकराल रुप लिएसँगै यसको समाधानक लागि स्थानीय, केन्द्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय स्थरमा थुप्रै संघ संस्थाले प्रभावकारी कदम चलेका छन्। सलह प्रोटिनको राम्रो स्रोत भएका कारण पाकिस्तानका केहि स्थानीय समुहले रातीको समयमा सलहलाई पक्रिने र नजिकको बजारमा बेच्ने गरेका छन्।
हाँस र कुखुराको दानाका रुपमा सलहलाई प्रयोग गरिएको छ। प्रति किलो १५ रुपैंयाका दरले बेचेका पाकिस्तानीहरुले एक रातमा सात टन सम्म सलह पक्रिन सफल भएका थिए। अरबमा मान्छेहरुले सलहलाई भूटेर खाने गरेका छन्। विभीन्न संघ संस्थाहरुले ‘सलहले बाली नस्ट गर्नु पुर्व सलहलाई नष्ट गर’, ‘सलहलाई पक्र, पैसा कमाउ, बाली बचाउ’ जस्ता नारा लिएर अभियान चलाइरहेका छन्।
भारतका केहि स्थानमा थाल बजाएर, ठुलो आवाज निकालेर पनि समस्याको केहि हद सम्म समाधान गरेका छन्। एउटा कुखुराले एक दिनमा सत्तरी सम्म किरा खाने र एउटा हाँसले एक दिनमा दुई सय सम्म सलह खाने भएकाले सम्भव भएको ठाउँमा कुखुरा र हाँसको पनि प्रयोग गर्न सकिन्छ। यसका अतिरिक्त बाली परिबर्तन, फुल नस्ट गर्नु र समस्या ग्रस्त क्षेत्रमा आगो बालेर धुवा निकाल्नु अन्य समाधानका उपाय हुन्। समस्या समाधानकालागी मालाथियोन, डाईजिनन, फिप्रोनिल बोरिक एसिड र अन्य किटनाशक रसायनको प्रयोगलाई अन्तिम विकल्पका रुपमा लिन सकिन्छ।