सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी कोरोना संक्रमित युवती भन्छिन, ‘तातोपानी पिएरै कोरोना भगाउँछु’

फोटो : गाेविन्द ओझा
फोटो : गाेविन्द ओझा
२०७७ जेठ २८, ०३:२५ आशिष मल्ल

धनगढी: सोमबार साँझ उनलाई फोन आयो र फोन उठाएपछि उताबाट आवाज आयो ‘रिना (नाम परिवर्तन) तिमीलाई कस्तो छ ? दुई/तीन दिनदेखि मेडिकलमा काम गर्न नगएकाले पनि उनी कार्यरत मेडिकल सञ्चालकले यस्तो सोध्न स्वभाविक नै होला भनेर उनले पनि जवाफ फर्काइन्, ‘ठिकै छ सर’। ‘तिमीलाई त कोरोना देखिएछ नी, केही भएको त छैन’ उताबाट यस्तो प्रतिप्रश्न आएपछि ‘रिना’ अचम्मित भइन्। 

कुनै लक्षणविना जोसुकैलाई पनि कोरोना देखिएपछि एकछिन त ट्वाल्ल नै हुन्छन् होला र उनी पनि भइन। त्यसको लगत्तै उनलाई डडेल्धुरा अस्पतालका मेसु जगदिश विष्टले फोन गरेर उनलाई कोरोना संक्रमण देखिएको बताए। उनले फोन गर्दा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएको र इच्छा भए अस्पतालको आइसोलेनमा नत्र घरमै एक्लै कोठामा होम क्वारेन्टिनमा बस्न सुझाएका थिए। ‘डराउनुपर्ने केही छैन, कुनै लक्षण देखिएको छैन्। तिमी घरमा एक्लै पनि बस्न सक्छौ केही भएमा सम्पर्क गरेहुन्छ।’ संक्रमित युवतीलाई डाक्टर विष्टले भनेका थिए। 

सोही अनुसार अहिले कोरोना संक्रमित ती स्वास्थ्यकर्मी घरको एक कोठामा बसेकी छन्। डडेल्धुराको अमरगढी नगरपालिका– ५ की २० वर्षीया ती युवतीले अनमी पढेकी हुन्। अध्ययन सक्काएर उनी डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत थिइन। सधैजसो बिहान मेडिकल गएर साझ फर्किने उनको दैनिकी बनेको थियो। स्वास्थ्यकर्मी भएकाले मास्क, ग्लोबस् र सेनिटाइजर प्रयोग गर्दै आएकी थिइन्। तर पनि कोरोना संक्रमण भएपछि उनले आजसम्म विश्वास गर्न सकिरहेकी छैनन्। 

तर जेठ ९ गते पुष्टि भएका डडेल्धुराका पहिलो कोरोना संक्रमित आफ्नो सम्पर्कमा आएकाले त्यहीबाट कोरोना सर्यो की भन्ने उनको शंका छ। ‘मेडिकलमा दिनकै सयौं बिरामी आइराख्ने गरेका थिए। तर ती पहिलो संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाले आमाको करैकरमा जेठ २१ गते कोरोना परीक्षणका लागि नमूना दिएको थिए। संक्रमण पुष्टि भएछ’ संक्रमित युवतीले दिनेश खबरलाई भनिन्। 

‘उहाँ (डडेल्धुराका पहिलो संक्रमित) त्यो दिन मेडिकलमा आउनुभएको थियो। उहाँले एउटा औषधि माग्नुभयो र मैलै घर गएर खानुहोला भन्दाभन्दै त्यही खानुभयो’ उनले भनीन, ‘मैलै के भएर अस्पताल आउनु भएको भनेर सोध्दा उहाँले आफु कोरोनाको स्वाब दिन आएको बताउनु भएको थियो। त्यहीबाट मलाई सर्योकी भन्ने लाग्छ। मैले सुरक्षाका सबै स्वास्थ्य सामग्री प्रयोग गरेकी थिए। अचम्म लाग्दैछ कसरी सर्या होला।’

ती पहिलो कोरोना संक्रमितलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेको सबैको खोजी गरेर नमूना लिइएको थियो। ती मध्ये धेरै अस्पतालका कर्मचारी र सरकारी कर्मचारी थिए। ‘मैले आरडिटी टेस्ट चाही गराएको थिए, त्यसमा पोजेटिभ आएको रहेछ डराउँछ भनेर होला मलाई चाही त्योबारे जानकारी गरिएको थिएन,’ उनी भन्छिन, ‘सबैले कोरोना परीक्षण गराइरहँदा मलाईपनि आमाले धैरै कर गरेको हुँदा मैले ख्यालख्यालमा पिसीआरको लागि २१ गते स्वाब दिएको थिए।’

तातोपानी पिउँदै, कोरोना भगाउँदै
प्राय घरबाट बाहिर ननिस्कीने ती युवती अहिले पनि घरमै एकान्त कोठामा बसेकी छन्। ‘तातोपानी पिएर न्यानो भएर बसीरहेको छु, मेरो शरिरमा केही भएको छैन सायद डाक्टरले भनेअनुसार मलाई नेगेटिभ आइसकेको होकी भोली फेरि नमूना दिन जाँदैछु’ उनले दिनेश खबरसँग भनीन, ‘खाना पनि मस्तै खान्छु, दिनमा फेसबुक चलाउँछु बस्छु। मलाई केही डर लागेको छैन। निको भइहाल्छ भन्ने लागेको छ।’

कोरोना चिन्तित बनाउने खालको भाइरस नभएको उनी बताउँछिन। ‘मलाई हेर्नुस न समान्य रुघाखोकी समेत लागेको छैन। सजगता अपनाउनुपर्छ र आत्मविश्वास बलियो बनाउनुपर्छ, त्यपछि कोरोना भागीहाल्छ जस्तो लाग्छ।’ उनले भनीन।

सबैको हेर्ने व्यवहार परिवर्तन 
आफुलाई कोरोना देखिएपछि आफन्त र साथिभाईले दिनकै धेरैपटक सम्झाउने गरेका छन्। ‘तिमीलाई केही भएको छैन्, ख्याल गर्नु, डर नमान्नु भनेर फोन/मेसेज गर्छन। तर मलाई केही भएकै छैन बेकारमा सबैले चिन्ता लिएको जस्तो लाग्छ’ उनले भनीन।

यस्तै उनले समाजले कोरोना संक्रमितलाई हेर्ने नजरिया फरक हुने गरेको बताइन। उनी भन्छीन, ‘पहिला जस्तो व्यवहार देखाउँदैनन्। बाहिर निस्किदा मुखमा हेरी रहने गर्छन, कोही त नजरबाट ढल्कीदासम्म हेरी राख्छन्।’

कन्ट्याक्ट ट्रेसिङ सम्पन्न
ती युवतीमा कोरोना संक्रमण भेटिएपछि उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी कार्य गरी कोरोना परीक्षणका लागि स्वाब लिइएको छ। स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार संक्रमित युवतिसँग सम्पर्कमा रहेका परिवारका सदस्य र केही स्वास्थ्यकर्मीको स्वाव लिएर धनगढीस्थित प्रयोगशालामा पठाइएको छ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस