गाउँघरमा कोरोना भन्दा क्वारेनटाइनको डर ! कस्तो होला दूरगामी असर ?
विष्णु प्रसाद जोशी
हामीलाई त आफ्नैले त्यागे, को भन्नु पराई?
राम्रो गाँस, शान्त वास मिलेन आफ्नै गाउँ आइ!
यो पिडा आज गाउँघर फर्की क्वारेनटाइनमा बसेका दाजुभाइहरूको हो। कोरोना भन्दा क्वारेनटाइनको अवस्था भयावह छ। कोही विद्यालयमा पाल ओछ्याई बसेका छन् त कोही गोठ पसेका छन्। मेरो आशय क्वारेनटाइन चाहिँदैन भन्ने हैन। एक आध् अपवाद बाहेक आफ्नै बुढा बुवा-आमा , बाजे, बजैको सुरक्षार्थ पनि सबै घर फर्केका लाहुरे २, ३ सप्ताह अलग्गै बस्न तैयार नै होलान्। प्रश्न व्यवस्थापनको हो। प्रश्न संवेदनशीलताको हो।
यी क्वारेनटाइनका हृदय विदारक दृश्य चित्रण गरी केही सञ्चार कर्मी भाइरल भई रहेका छन्। कोही सामाजिक सञ्जालमा हिजो विद्यालय छोडी भारत जाने आज भारत छोडी विद्यालय भर्ती भए भनी मेमे साझा गर्दै छन्। हास्य, व्यङ्ग्य आफ्नै ठाउँमा छ तर अचानोको पिर खुकुरीले जान्दैन !
अनि आज हामीले फर्केका युवालाई विपद्मा मात्रै गाउँ-घर छिर्ने, माटोको ऋण कहिले तिर्ने? भनेर प्रश्न गर्नु जरुरी छ। तर उनीहरूलाई गाउँ-घरमा उद्यम गर्ने वातावरण मिलाउन सहकार्य पनि गर्नुपर्छ। केही सहरका युवालाई समकक्षीहरूको दबाब भए पनि धेरै ग्रामीण युवाको हिजो बिदेसिनु बाध्यता थियो र आज गाउँघर फर्किनु पनि बाध्यता हो।
स्मरण रहोस् हिजो हामीले नै छोरा-छोरी र आफन्त विदेश जाँदा माला-खादा लगाई, भोज-पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटस रंग्याएका थियौँ। त्यसैले आज वैदेशिक रोजगारको लागि जान्छु भने जसले पनि ऋण दिन्छन् तर आफ्नै गाउँ–ठाउँमा केही उद्यम फर्म खोल्छु भन्दा लगानीकर्ता भेट्न कठिन छ।
त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी-बहिनी दिन तैयार हुन्छन् तर आफ्नै गाउँघरमा गरी खान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ।त्यसैले, आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। पहाडका मान्छे तराई झर्न चाहन्छन्, राईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्।
दुई दशक अघि केही समूहले आफ्नो सत्ता साध्ने महत्त्वाकाङ्क्षा पूरा गर्न १ पुस्ता गाउँ–घरका युवालाई किताब फाल्न लगाई आफ्ना साम्यवादी झोला भिडाउन सफल भए होलान्, तर संरचना भत्काउन जान्नेहरूलाई सत्तामा पुगेपछि आफ्ना आफन्तहरूको भविष्य बनाउने बाहेक अरूको बारेमा चासो नै भएन।
यो शिक्षा “बुर्जुवा“भन्नेले लाखौँ युवाहरूको भविष्यसँग जुवा खेले। हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन् । जत्ति धारिलो हिजो तरबार, उत्ति ठुलो आज घरबार
अब त सत्ता नि उनकै, कसले गर्ने प्रतिकार?
अख्तियार देखि बालुवाटार हुँदै सिंहदरबार
घरदैलोमा गा’छ भन्छन् आजकल भ्रष्टाचार
शिक्षा, स्वास्थ्य, पूर्वाधार बन्यो माफिया बजार!
बारम्बार यिनै पात्र कसरी सत्तामा पुग्छन्? किनकि हामीले प्रश्न गरेनौँ । घरदैलोमा आउने हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर केही वर्षमै काठमाडौँमा महल कसरी बने? कर्णालीमा कोरोना परीक्षण गर्ने पीसीआर र अन्य पूर्वाधार को लागी बजेट छैन भन्नेले डेढ करोडको गाडी किन्ने पैसा कहाँबाट आउँछ?
हाल मलेसियामा कार्यरत सुरेश थापा भन्नुहुन्छ, “हामी युवाले अब हामीले भोट दिएका स्थानीय प्रतिनिधिलाई प्रश्न गर्नु पर्छ। सोधौँ कि स्थानीय विकासमा विनियोजन भएको बजेटले के के विकास भयो? के- के पूर्वाधार बने?“
जनताको मत बोकी जनता कै रगत चुस्न छोड
भ्रष्टाचार मतियार सिंहदरबार घुस्न छोड
इमानदार देश भक्त राष्ट्र प्रेमी चाहियो अब
गिद्धे आँखा गाडी विकास बजेट लुछ्न छोड
विकृत राजनीतिविरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा, रवि लामिछाने या ज्ञानेन्द्र शाही समर्थक समूहहरूमा मेमे सेयर गरेर वा कुनै नेतालाई जुत्ताझापड हानेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन। हामीले आत्मालोचना गर्नै पर्छ। लामो समयदेखि कोरिया बसेर सुदूरपश्चिम समाज र गैर आवासीय नेपालीहरूका संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका युवा उद्यमी धर्मराज जोशी भन्नुहुन्छ; समाज पछाडि पर्नुमा मुख्य हात मेरो पनि छ भन्ने कुरा सबै साथीले मनन गर्नु आजको आवश्यकता हो। जबसम्म हामी युवाले यो भावलाई आत्मसाथ गरेर आफ्नै गाउँघरमा केही उद्यम गर्ने प्रण लिन्नौँ तबसम्म समाजको साँचो रूपान्तरण सम्भव छैन।
अहिले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख छ भने अर्कोतिर कोरोना महामारीको प्रकोपले विदेशी नागरिकलाई ‘आफ्नै देश जाऊ’भन्ने लहर बढ्दो छ । आपत्मा आखिरमा सबैको मुखमा आउँछ आमाकै नाम । आश्रय बन्छ आफ्नै गाउँ-ठाउँ ।
विदेशबाट फर्केका यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्द्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नै पर्छ । अब हरेक जिल्लामा कम्तीमा एउटा वैज्ञानिक अनुसन्धान तथा परीक्षण प्रयोगशाला खोल्न सङ्घीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनुपर्छ।
त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्द्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्तिलाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ । यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ। त्यस्तो संरचना बनाउन चाहिने प्राविधिक जनशक्ति जुटाउन स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग र संरक्षण चाहिन्छ नै।
यो समय सबैले हातेमालो गर्ने समय हो । के हाम्रो आफ्नो गाउँ-ठाउँ र देशप्रति दायित्व छैन? हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ, हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला यही हो । आज हामीले आफ्नो गाउँ-ठाउँमा गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरूको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ-ठाउँ छोडी बिदेसिनुपर्ने बाध्यता कम हुनेछ ।
देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नै पर्छ । अहिलेको विपद्मा कुराभन्दा पनि सही चिन्तन र सही कार्यको कार्यान्वयनको आवश्यकता छ। सार्वजनिक स्थलहरूमा भेला बन्द गरेर मात्रै पुग्दैन। सङ्क्रमण फैलिन नदिन सामूहिक समाजसेवामा उत्रिँदा पनि सुरक्षित सामाजिक दुरी कायम गर्न जरुरी छ तर यो आपत्को घडीमा जिम्मेवार व्यक्तिहरूले पनि आफ्नो सामाजिक जिम्मेदारी महसुस गरी जो जहाँ छौँ त्यहीँबाट सक्दो सहयोग गरेर मानवीय भावनालाई मर्न दिनु हुँदैन। त्यसैले कनट्याक्ट ट्रेसिंग गर्न र सामाजिक चरणको कोरोना फैलाव घटाउन पीसीआर मै ध्यान दिनु आवश्यक छ ।
आरडीटीले कोरोना सङ्क्रमणको सुरुवाती चरणमा ५ दिन देखी ७ दिन सम्म पोजेटिभ नदेखाउने हुनाले । सुरुमा आरडीटी भन्दा पीसीआर नै बढी भर पर्दो हो । त्यसमाथि नेपाली बजारमा उपलब्ध आरडीटीको गुणस्तर माथि पनि प्रश्न चिन्ह भएको हुनाले अब पीसीआर परीक्षण गर्ने पूर्वाधार हरेक जिल्लामा पुर्याउन आवश्यक छ ।
दुर्गम बझाङमा समेत अशोक मल्ल जस्ता मेडिकल व्यवसायी र नारायण जोशी जस्ता जनस्वास्थ्यका प्राविधिक युवाहरू आफ्नो स्वास्थ्यको बाजी लगाई अहोरात्र समाज सेवा र कोरोना सम्बन्धी जन चेतना जगाउनमा जुट्नु भएको छ।
नारायणजीको स्थलगत अनुगमन पछि ग्रामीण क्वारेनटाइन व्यवस्थापनका लागि केही सुझाव छन्:
१) परदेशबाट भित्रिएका युवालाई कुन क्षेत्रबाट आए, हिँडेको कति दिन भयो जस्ता बुँदा भर्न लगाई हरेक गाउँ पालिकाको प्रवेश नजिकै एउटा जनस्वास्थ्य हेल्प डेस्क राख्ने।
२) अलग समयमा भित्रिएका युवालाई एउटै क्वारेनटाइनमा नराख्ने।
३) क्वारेनटाइनमा भएका सबैको क्रमशः पीसीआर परीक्षण गर्दै जाने र नेगेटिव देखिएकालाई घरमै गएर
बस्न लगाउने।
४) विरामको जस्तो लक्षण देखिएकालाई अस्पताल नजिकै विशेष क्वारेनटाइनमा स्वस्थ कर्मीको
निग्रानिरमा राख्ने।
यस्तै शैलेन्द्र रोकाया र उत्तम थापा जस्ता युवा सञ्चार कर्मीले पनि बझाङमा सूचना प्रवाह र खबरदारीको कार्य गरी रहेका छन्। यी सबै युवाहरू मिलेर पीसीआर परीक्षण प्रयोगशालाहरू बनाउन आवाज उठाउनुका साथै सबै स्थानीय प्रतिनिधि र जिल्ला स्वास्थ्य कार्यालय सँग छलफल जारी राखेका छन्।
यसरी नै हामी सबै तहका जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मी, प्राविधिक, सञ्चार कर्मी र ऊर्जावान् युवाहरू मिलेर पीसीआर परीक्षण प्रयोगशालाहरू हरेक जिल्लामा लगभग १ देखी डेढ करोडको लगानीमा स्थापित गर्न सकिन्छ । हो, एक हातले ताली बज्दैन । यस्तो विपद्मा साझा सहमतिमा जनप्रतिनिधि, नागरिक समाज, युवा र विज्ञहरूको टोली बनाऊँ । गाउँ-ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गर्न सबै नेपाली मूलका वैज्ञानिकहरू एकजुट बनौँ ।
यो वैस्विक आर्थिक मन्दी र कोरोनाको महामारीले हामी सबैको आँखा उघारोस्! आखिर विपद्मा आश्रय बन्छ आफ्नै गाउँ ठाउँ! आऊ नेपाली आऊ, एकजुट भएर नेपाल बनाउन आऊ खुकुरी, बन्दुक धेरै भिर्यौ अब कलम औजार समाऊ! नेपालको जय होस!
विष्णु प्रसाद जोशी
खप्तडछान्ना ५ (पिठेतोला), बझाङ
हाल: विद्यावारिधि (रसायन शास्त्र) युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका
Twitter: @BishnuJoshi999
(लेखनमा सहयोग: सुरेश थापा, धर्मराज जोशी र नारायण जोशी)