सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको ट्रान्जिटमा भोक मेटाउँदै एनडी प्रकाश आपतकालीन चुलो

२०७७ जेठ २६, ०२:३५ खबर संवाददाता

-गणेश थापामगर

विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड –१९ अर्थात कोरोना भाइरसको कहरले संसारलाई आजित पारिरहेको बेला त्यसले नेपाललाई पनि अछुतो छोडेको छैन। अझ सुदूरपश्चिमका पहाडि जिल्लाबाट रोजगारीको शिलशिलामा बाहिर गएकाहरु फर्किने क्रम बढीरहेको तथ्यांक हेर्दा कोरोनाको कहरले सुदूरपश्चिममा पनि ताण्डव मचाउने निश्चित देखिन्छ। 

गतवर्ष चैत्र ११ गते देखि कोरोनाको प्रभावबाट बच्नको लागि देशव्यापी रुपमा लकडाउन घोषणा गरेसँगै सुदूरपश्चिम नाका भएर स्वदेश फर्कने क्रम बढदै गएपछि २बैशाख २७ गते देखि खानापानीको व्यवस्था सहित मानवधर्मका लागि संञ्चालन गरिएको एनडी प्रकाश आपतकालीन चुलोले डडेल्धुराहुँदै विभिन्न जिल्लासम्म जाने यात्रुहरुका साथै डडेल्धुरामा स्थापना गरिएका क्वारेन्टाइनहरुमा गई खाना तथा नास्ता खुवाएर भोक मेटाइरहेको छ। 

नेपाली कांग्रेस डडेल्धुराले आफ्नो पार्टी कार्यालय अर्थात किसुन जि भवन डडेल्धुरामा संञ्चालन गरेको आपतकालीन चुलोले क्वारेन्टाइनमा बसेकाहरुलाई मात्र नभई विभिन्न काम विशेषले डडेल्धुरा सदरमुकाम पुग्ने जिल्लाबासीहरुको समेत भोक मेटाइरहेको छ। लकडाउनको कारण जिल्ला सदरमुकामका सबै होटेलहरु बन्द रहेको कारण शनिबार र अन्य सार्वजनिक विदाको दिन बाहेक अन्य दिनहरुमा आपतकालीन चुलोमा भोक मेटाउनेहरुको संख्या उल्लेखनिय देखिन्छ।  

कसरी संञ्चालन हुँदैछ चुलो ?
एनडी प्रकाश आपतकालीन चुलोलाई दैनिक रुपमा संञ्चालन गर्नका लागि सेवादल नाम दिएर स्वंयमसेवकहरुको दस्ता तयार गरिएको छ। जहाँ इच्छुकहरुले स्वंयमसेवकको रुपमा काम गर्ने अवसर पाउँदछन भने स्वंयमसेवकहरु आफनो पायकपर्ने समय मिलाएर तरकारी काट्ने, सरसफाई गर्ने, दाल चामल केलाउने र तयार भएको खानालाई आवश्यकता अनुसार वितरण गर्ने गरिन्छ। आपतकालीन चुलोमार्फत क्वारेन्टाइनमा बसेकाहरुलाई क्वारेन्टाइनमै खाना तथा खाजा पुर्याउने गरिन्छ। त्यसैगरी काम विशेषले जिल्ला सदरमुकाम आउनेहरुलाई किसुन जि भवन र डडेल्धुरा हुँदै अन्य जिल्लाजाने यात्रुहरुलाई जिल्ला सदरमुकामदेखि २५ किलोमिटरको दुरीमा लगेर खुवाउने गर्दछ।

श्रोत कहाँबाट जुट्छ ?
एनडी प्रकाश आपतकालीन चुलो संञ्चालनका लागि आवश्यकपर्ने खाद्यान्न, पानी, ग्याँस जस्ता अत्यावश्यक बस्तुहरु स्थानीय मनकारीहरुसंग संकलनगरी सुरु भएको हो।  आपतकालीन चुलो प्रभावकारी रुपमा संञ्चालन हुन थालेपछि सहयोग गर्ने मनकारीहरु थपिन थालेका छन्। 

पछिल्लो समयमा अधिकांश सहयोगीहरु आफै पुगी खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गरिरहेका छन्। स्थानीय कृषकहरु आफनो बारीमा फलेका ताजा तरकारी दिएर सहयोग गरिरहेका छन् भने केही सहयोगीहरु भने जिल्लाबाहिर तथा विदेशमा बसेरैपनि गच्छे अनुसारको सहयोग गरिरहेका छन्। सहयोगीहरुमध्ये केही आफ्नो नाम खोल्न चाहन्छन् भने केही सहयोगीहरु गुमनाम सहयोग गरिरहेका छन्। त्यसैगरी पछिल्लो समयमा जन्मदिन मनाउने तथा विहात्सोव मनाउनेहरुले पनि चुलोलाई सहयोग गरिरहेका छन्। हरेकदिन सहयोग गर्नेहरुको नामावली र सहयोगको विवरण सेवादलले विभिन्न सामाजिक संञ्जालबाट प्रकाशन गर्नेगर्दछ।

कसरी हुन्छ सम्पर्क ?
एनडी प्रकाश आपतकालीन चुलो संञ्चालन गर्न गठन गरिएको सेवादलमार्फत जिल्ला सदरमुकामका विभिन्न सार्वजनिक चोक तथा सार्वजनिक स्थलहरुमा आपतकालीन चुलोको बारेमा जानकारीमुलक ब्यानर टासिएको छ। जहाँ सम्पर्क नम्बर, लोकेसन, खाना खानको लागी चुलो खुल्ने समय उल्लेख गरिएको छ। यसका आधारमा धेरै मान्छेहरुको चुलोसंगको पहुँच बढीरहेको छ। त्यसैगरि क्वारेन्टाइन व्यवस्थापन समितिमार्फत क्वारेन्टाइन सम्मको पहुँच बन्ने गर्दछ। भने सेवादल र चुलो संञ्चालकको तर्फबाट विभिन्न सामाजिक संञ्जालमा प्रकाशन गरेको सामाग्रीबाट अन्य यात्रुहरुसंग सम्पर्क विस्तार हुने गरेको छ।

हालसम्म कतीको भोक मेटियो ?
बैशाख २७ गते देखि संञ्चालनमा आएको एनडी प्रकाश आपतकालीन चुलोले क्वारेन्टाइनमा बसेका, काम विशेषले जिल्लासम्म आउने र डडेल्धुरा हुँदै अन्य जिल्ला जाने यात्रुहरुगरी अहिलेसम्म करिव ५२ सय भन्दा बढी जनाको भोक मेटिसकेको सेवा दलका संयोजक टकबहादुर क्षेत्रीले बताए।  सुरुको दिन २८ जनालाई खाना खुवाइएकोमा हाल न्यूनतम ३२ देखि अधिकतम ३०० जनालाई चुलोमार्फत खाना खुवाइरहेको देखिन्छ। आपतकालिन चुलोमा भोक मेटाएकामध्ये धेरैले सामाजिक संञ्जालको माध्यमबाट आभार एवं धन्यवाद व्यक्त गरिरहेको देखिन्छ। 

सामाजिक सद्दभाव फैलाउन सहयोग गर्छ की ?
हामी र हाम्रो समाजमा विभिन्न किसिमका भेदभावहरु यथावत रहेको अवस्था एकातिर छ भने पछिल्लो समयमा राजनैतिक भेदभाव प्रमुख भेदभावको रुपमा फैलिन थालेको कुरा प्रस्ट देख्न सकिन्छ।

एनडी प्रकाश आपतकालीन चुलो संञ्चालनको सुरुवाती दिनहरुमा अधिकांशले यस चुलोलाई राजनैतिक नजरले हेरेको प्रस्ट देखिन्थ्यो तर पछिल्लो समयमा एनडी प्रकाश आपतकालीन चुलोमा खानाको लागी अनुरोध गर्नेहरु देख्दा र सम्पर्क गर्नेहरु देख्दा यो पार्टी वा त्यो पार्टीको भन्ने भावनामा कमी आएकोे जस्तै देखिन्छ। साथै पछिल्लो समयमा एनडी प्रकाश आपतकालीन चुलोलाई सहयोग गर्नेहरुलाई हेर्दापनि पार्टीगत भावना भन्दा माथि उठेर सहयोग गर्नेहरु क्रमसः बढदै गएको देखिन्छ। यसले सामाजिक सद्दभाव फैलाउन सहयोग गर्छ की ? 

 

कमेन्ट लोड गर्नुस