सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक जना कोरोना संक्रमित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा

२०७७ जेठ २३, ०१:२४ खबर संवाददाता

धनगढी : भारतबाट फर्किएका बझाङका कोरोना संक्रमित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा रहेका छन्। एक साता अघि मात्रै भारतको दिल्लीबाट फर्किएका वित्थडचिर गाउँपालिका –७ का २६ वर्षीय पुरुषमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको बच्चामा पखाला, ज्वरो र बान्ता गर्ने समस्या देखिएपछि बझाङबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। बच्चा र आमासंगै ती पुरुष पनि बच्चाको उपचारका लागि एम्बुलेन्समार्फत जेठ २१ गते अस्पताल आइपुगेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए। 

ती पुरुष श्रीमती र बच्चासहित जेठ १४ गते भारतको दिल्लीबाट आएका थिए। उनीहरूलाई १५ गते सुनकुडा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूसहित उक्त क्वारेन्टाइनमा ३५ जनालाई राखिएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिभक्त अवस्थीले जानकारी दिए। उनका अनुसार आमा र बच्चाको पिसिआर रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ। 

अहिले बच्चाको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको डडेल्धुरा अस्पताmका निमित्त मेसु विष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस