सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमै कैलालीका ३८ जनाले गरे आत्महत्या, पुरुष बढि

२०७७ जेठ २२, ०७:४७ खबर संवाददाता

धनगढी : कैलालीमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। लकडाउनपछि अपराधिक गतिविधिमा कमी आएपनि आत्महत्याको क्रम भने लकडाउनमा पनि रोकिएको छैन्।

जिल्ला प्रहरी कार्यालय कैलालीक अनुसार लकडाउनमा पनि दैनिक रुपमा आत्महत्याका घटना सार्वजनिक भईरहेका छन्। सरकारले कोरोना संक्रमण घटाउनका लागि जारी गरेको लकडाउनपछि मात्रै कैलालीमा ३८ जनाले आत्महत्या गरेका छन्।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लकडाउनको ७१ दिनमा कैलालीमा २५ जना पुरुष र १३ जना महिला गरी ३८ जनाले आत्महत्या गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि कैलालीमै आत्महत्याका घटना सार्वजनिक भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए।

‘सहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ।’

विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्न थालेको छ। प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो।

अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो।
 

कमेन्ट लोड गर्नुस