कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–९ बक्राकटानबाट धनगढी–८ निवासी २२ वर्षीय प्रकाश रानासहित तीन जनालाई पक्राउ गरेको हो।
से २ प ६१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा ८६३ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधसँगै मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
त्यसैगरी, शुक्रबार राति गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ अनामनगरबाट २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी–१ का ३३ वर्षीय हरिष वडु र गोदावरी–२ तेघरीका २६ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।
प्रहरीले दुवै घटनामा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।