गोदावरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी
धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा ताला लगाइएको छ। लकडाउन प्रभावित नागरिकलाई राहत वितरणमा बद्मासी गरिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो।
पार्टी निकट र आसेपासेहरुलाई मात्र राहत दिएको उनीहरुको आरोप छ। वस्तविक लकडाउन प्रभावितलाई राहत नदिएको भन्दै उनीहरुले ताला लगाएका स्थानीय बिक्कि ओझाले बताए।
वडा अध्यक्ष नरेशबहादुर अधिकारीले राहत नपाएका, कम पाएका गुनासो गर्दै आएका नागरिकले वडा कार्यालयमा ताला लगाएको बताए। ‘राजनीतिक दलहरुलाई राहत वितरणमा लागि सूची तयार गर्न भनेका थियौ। उहाँहरुल छुट्नु भएको रहेछ। केहीले कम पाएको पनि भन्दै थिए। पुनः राहत आएपछि वितरण गर्छौ।’ वडा अध्यक्ष अधिकारीले भने।
वडा नम्बर ८ को कार्यालयले दुई सय ५३ परिवारलाई राहत वितरण गरेको बताएको छ। पुनः प्रदेश सरकारले दिएको रकमबाट थप राहत समेत वितरण गरिएको वडा अध्यक्ष नरेशबहादुर अधिकारीले जानकारी दिए।