सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल फास्ट ट्रयाक : कहिले सुरुङ मार्ग र कहिले उरै पुगाउने सपना

२०७७ जेठ १९, ११:४३ नवराज पनेरु

धनगढी : २०७५ साल जेठ १५ गते संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक बर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दा अपत्यारीलो किसिमले एउटा योजना उल्लेख गरे। सो समयममा १० बर्षदेखि ट्रयाक समेत खोल्न नसकिएको धनगढी–दिपायल द्रुतमार्गमा सुरुङ बनाउने योजना अर्थमन्त्रीले बजेट भाषणमा सुनाएका थिए।

ट्रयाक समेत खोल्न बाँकी सडकमा सुरुङ मार्ग निर्माण हुने आश्वासन कसैले पत्याएका थिएनन्। र सुरुङ मार्गको नाम उच्चारण भएदेखि उक्त सडकमा काम समेत हुन सकेको छैन्। अहिले निर्माणको चर्चा सुरु भएको १२ बर्ष र बजेटमा समावेश हुन थालेको ११ बर्ष पुगेको छ।

तर पनि धनगढी–दीपायल द्रुत मार्गको ट्रयाक खोल्न बाँकी रहेको छ। बजेटमा अटाउने तर कार्यान्वयन नहुँने परिपाटीका कारण एक सय छ किलोमिटरको धनगढी–दीपायल द्रुत मार्गको ट्रयाक खोल्न समेत बाँकी रहेको हो।

अहिले पनि २० किलोमिटर भन्दा बढि ट्रयाक खोल्न बाँकी छ भने ट्रयाक खोलिएको क्षेत्रमा पनि फराकिलो बनाउने कार्य बाँकी छ। धनगढी–दीपायल द्रुत मार्ग योजना कार्यालयका प्रमुख खगेन्द्र शाहीले पनि सडकको निर्माण अलपत्र परेको स्विकार गरे।

‘रुख कटानका लागि मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो,’ उनले भने, ‘तर अहिलेसम्म वन डिभिजन कार्यालय डोटीमा सडक विभाग र वन विभागको सम्झौता पुगाउन सकिएको छैन्।’ उनका अनुसार सडक निर्माणका लागि बुहबर्षिय ठेक्का आह्वानमा समेत अवरोध गरिएपनि सडक निर्माणमा थप अन्योलता बढेको छ। 

आर्थिक बर्ष २०७५/०७६ मा सुरुङ मार्गको सपना देखाएको संघीय सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा भने एक कदम पछाडी सर्दै सुरुङ मार्गको अध्ययन गर्ने भनेको थियो। आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा फेरी एक पटक सुरुङ मार्गको सपना देखाईएको छ।

‘प्रदेश सरकारसंग सहकार्य गर्दै खुटिया–दीपायल सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ। खुटिया–दिपायल–चैनपुर–उरै सम्म सडक निर्माणको प्रक्रिया अगाडि बढाईने छ।’ आर्थिक बर्ष २०७७÷०७८ को बजेट भाषणमा उल्लेख गरिएको छ।

१२ बर्षमा एक सय ६ किलोमिटर सडकको ट्रयाक खोल्न नसकिएकोमा उरै सम्म सडक पुगाउने सपनामाथि पनि विश्वास गर्न गाह्रो छ। तर डोटीबाट प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले भने आगामी आर्थिक बर्षदेखि सडक निर्माणले तिव्रता पाउने दावी गरे।

‘अब धनगढी दीपायल द्रुत मार्ग भन्ने रहेन्। धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै सडक हो। आगामी आर्थिक बर्षमा पर्याप्त बजेट बिनियोजन हुन्छ। ढुक्कु भए हुन्छ।’ प्रतिनिधि सभा सदस्य आलेमगरले भने। 

१२ बर्षसम्म सडकको ट्रयाक समेत खोल्न बाँकी रहेको बेला कहिले सुरुङ मार्ग त कहिले उरैसम्म सडक पुगाउने सपना बाडिएपनि प्रदेशवासीलाई भने विश्वास लागेको छैन्। कैलाली र डोटीमा द्रुत मार्गको सपना बुन्दै बनाएका बगैंचामा फलेको कृषि उपज कुहिन थालेको बर्षाै भईसकेको छ।

द्रुत मार्ग निर्माण होला र उर्वर भुमिमा उत्पादन भएको कृषि उपजले सहजै बजार पाउला भन्ने सपना बुनेको किसानहरु थाकिसका छन्। तर संघीय सरकार र यस क्षेत्रका नेताहरु भने द्रुत मार्गको नाममा राजनीति गर्न अझै थाकेका छैनन्।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस