सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका छैठौँ व्यक्तिले पनि कोरोना जिते, डडेल्धुरा अस्पतालबाट डिस्चार्ज हुँदै

२०७७ जेठ १९, ०७:२९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम  नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो। डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी दिए।

संक्रमित व्यक्तिको दुई पटक नमूना परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने गरिएको छ। सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनीहरु पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस