सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा डडेल्धुराको ब्लड बैंकमा रगत अभाव

२०७७ जेठ १५, ०४:१२

टेकराज अवस्थी, डडेल्धुरा :  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रगतको चरम अभाव भएको छ। कोरना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण रगत संकलन गर्न नसक्दा डडेल्धुरामा रगतको अभाव भएको हो।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखा भवनमा रहेको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव हुँदा डडेल्धुरा अस्पताल डडेल्धुरामा ग्रामीण क्षेत्रसहित बैतडी, दार्चुला, बझाङ, डोटी लगायतका जिल्लाबाट आउने बिरामीलाई समस्या हुने भएको हो। 

कोरोना भाइसको संक्रमणको त्रासका कारण रगत संकलन गर्न नसक्नुका साथै जिल्ला सदरमुकाममा रहेका रक्तदाताहरु गाउँमा गएकाले रगतको अभाव भएको सेवा केन्द्र प्रमुख गणेश बहादुर ऐरले बताए ।
लकडाउनका कारण रक्तदाताहरु सहजै सम्पर्कमा आउन नसक्दा रगतको अभाव हुँदा विशेषगरी डडेल्धुरा अस्पतालमा आउने गर्भवती महिलाहरुको शल्यक्रिया गर्दा समस्या हुने गरेको छ। रगत संकलन गर्न नसकिएपछि बिरामीलाई अन्यत्रबाट भएपनि रगत खोजेर दिने गरेको ऐरले बताए।

जिल्लामा रक्त समूह तथ्यांङ्क नहुँदा र सरोकारवाला निकायले रेडक्रसमा रगतको मौज्दात छ कि छैन भन्ने बारेमा चासो नदिँदा कोरोनाको संत्रास फैलिरहेका बेला दुःख पाउनु परिरहेको बझाङ्गबाट उपचारका लागि डडेल्धुरा पुगेका बिरामीका आफन्तले बताए। उनले भने ‘बझाङको देउलेकमा सुत्केरी भएकी श्रीमतीलाई रगतको अभाव देखिएपछि ठूलो आशा लिएर डडेल्धुरा पुगेको हुँ। तर ब्लड बैंकमै रगत नपाएपछि समस्या झेल्नुपर्यो।’ उनले थपे, ‘डाक्टरले रगत ल्याउ भनेर लेखी दिन्छन हामीले कहाँबाट ल्याउने, यहाँको अस्पताल र रक्त सञ्चार केन्द्रबिच खासै तालमेल रहेनछ योभन्दा त तराई गएको भए हुन्थ्योहोला। कतिपय रगतको आवश्यकता भएकाहरुको त अस्पतालबाटै बिरामी माथि खेलवाड हुँदो रहेछ।’ 

पहाडि जिल्लाको एक मात्र ब्लड बैंकमा रगतको पर्याप्तता नहुनु दुखद भएको रक्त संचार सेवा केन्द्रका अभियन्ता तथा नेपाल रेडक्रस सोसाइटी डडेल्धुराका पूर्व सभापति सुरेन्द्र सिंह ऐरले बताए। ‘सुविधाका लागि धेरै संघर्ष गरेर यो संस्था स्थापना गरियो तर आजभोली यसतर्फ कसैको ध्यान गएको छैन’ उनले भने, ‘यसलाई दिगो संचालन गर्न सकिएन भने यहाँका सेवाग्राही जनताले सास्ती त पाउँछन नै तर यसैका कारण संघीय सरकार मातहत भनिएको अस्पतालको पनि औचित्य रहदैन।’

अस्पताल परिसरसँगै जोडिएको र अति आवश्यकिय सेवा भएपनि जनताबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले पनि ब्लड बैंकलाई उपेक्षा गरेको नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रसाद जोशीले दुखेसो व्यक्त गरेका छन्। उनले भने, ‘मान्छेको जीवन र मृत्युसँगको सवाल हो, रक्तदान प्रणालीलाई व्यवस्थित गर्नुपर्छ र आवश्यक बजेट विनियोजन गरेर सञ्चार केन्द्रलाई दिगो व्यवस्थित र स्वस्थ वातावरणमा कामगरी जनतालाई सेवासुविधा दिने व्यवस्था मिलाउनुपर्छ।’

डडेल्धुरा अस्पतालमा मासिक एक सय जति पिन्ट माग हुने तर  खपत चार÷पाँच मात्र बाँकी फिर्ता हुने ब्लड बैंकका प्रमुख गणेश बहादुर ऐरले बताए। ‘फिर्ता गरेको रगत कसरी राख्ने हामीसँग डिफ्रिज पनि छैन, रगतको मेरिट दुई दिनभन्दा बढी रहदैन अनि खेर जान्छ’ उनले भने, ‘समस्या धेरै छन यसलाई प्रभावकारी रुपमा व्यवस्थित गर्न सार्थक प्रयास र पहल अहिलेसम्म भएको देखिदैन। डडेल्धुरामा सात स्थानीय तह छन्, सबैको दायित्वभित्र पर्ने विषय भएपनि कसैले चाँसो दिएका छैनन्।’

रक्त सञ्चार सेवा केन्द्र आन्तरिक व्यवस्थापन, कर्मचारी तलब तथा कार्यालय सञ्चालनमा हम्मेहम्मे धानिरहेको छ भने उता अमरगढी नगरपालिकाबाट रक्त सञ्चारका नाममा बजेट विनियोजन गरेर रकमान्तर गर्दै अस्पताललाई भुक्तानी गरिरहेको प्रवृतिप्रति स्थानीयले आपत्ति जनाएका छन्।

विभिन्न निकायबाट आएको रकम ब्लड बैंकलाई उपलब्ध नहुनु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष तथा नागरिक समाज सदस्य मानबहादुर साउँदले बताए। 
स्थापना काल २०७० देखि चार हजार विरामीलाई सुविधा दिएको केन्द्रले रगतको अभाव हुँदा विरामीलाई नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी सहित अन्य रक्त स्थानीय स्वयंसेवकद्वारा रक्तदाताहरुलाई खोज्नु पर्ने वाध्यता भएको छ। 

डडेल्धुरामा रहेको यो अति बान्छनिय संस्थाको नियमित सेवाका लागि डडेल्धुराका केहि युवाहरु, विद्यार्थीहरुको पहलकदमीमा बैंकलाई आवश्यक परेको बेला विभिन्न रक्तदाताहरुसँग सम्पर्क समन्वय गरेर विरामीको ज्यान बचाउन सफल भएको डडेलधुरा बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन सभापति जगतबहादुर ऐरले बताए। 

पर्याप्त रगतको व्यवस्था र सुविधाजनक बनाई यसलाई सुचारु गर्न सबै पक्ष जिम्मेवार र गम्भीरताका साथ नलागे रक्त संचार सेवा केन्द्र इतिहासको पानामा मात्र सिमित हुने निश्चित छ।  

कमेन्ट लोड गर्नुस