सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नमुना संकलन गर्ने प्रयोगशालाकर्मीले पिउने पानीसमेत पाएनन्

२०७७ जेठ ११, ०२:२८ आशिष मल्ल

धनगढी : डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा शनिबार केही सुरक्षाकर्मी, सञ्चारकर्मी र डडेल्धुरामा फेला परेका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि नमूना लिइयो। नमूना संकलनका लागि प्रयोगशालामा कार्यरत केही कर्मचारीलाई उक्त स्थानमा खटाइएको थियो।

जेठको उखरमाउलो गर्मीमा दिउँसोको १ बजेतिर, त्यसैमा हावा समेत नछिर्ने व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) लगाएर चार जना प्रयोगशालाकर्मीहरु धमाधम पिसीआरका लागि थ्रोट स्वाब र र्यापिड टेस्टका लागि नमूना लिन व्यस्त थिए। कोरोनविरुद्धको लडाइमा फ्रन्टलाइनर मानिने प्रयोगशालाकर्मीहरुले लगातार ४० जनाको स्वाब संकलन गरे र १९ जनाको आरडिटी टेस्ट गरे तर त्यो बिचमा उनीहरुले पिउन पानी समेत नपाएको गुनासो गरेका छन्। 

‘मान्छेहरु लगातार नभएर केही समय रोकिएर आइरहेका थिए’ डडेल्धुरा अस्पतालका ल्याब टेक्निीसियन रमेश बोहोराले भने, ‘त्यस्तो चर्को गर्मीमा पसिना पुछ्दै काम गर्दै थियौं। पानी प्यास लागिरहेको थियो तर पिउनलाई पानी थिएन।’ गर्मीका कारण अत्तिनै तिर्खा लागेकाले साथिसँग पानी मगाएर आफुहरुले पिएको उनले बताए। 

त्यती मात्रै होइन जसोतसो नमूना संकलनको काम सिद्धाएपछि उनीहरु हात धुन भनेर साबुन खोज्न लागे। तर त्यहाँ हात धुन साबुनको समेत व्यवस्था थिएन। ‘यो कस्तो व्यवस्थापन ? करोडौंका गाडी चढ्न बजेट हुने तर आफ्नो ज्यानको ख्याल नगरी युद्धमा खटिएका हामी स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीलाई पानी समेत खानको लागी व्यवस्था गर्न नसक्नु कस्तो बिडम्बना?’ बोहोराले प्रश्न गरे। यसअघि समेत उक्त स्थानमा कोरोना परीक्षणका लागि नमूना लिन जाँदा यस्तै समस्या भोगेको उनले दिनेश खबरलाई सुनाए। 

स्वास्थ्य कार्यालय र अमरगढी नगरपालिका यसरी पन्छिन खोजे 
डडेल्धुरा बहुमुखी क्याम्पसमा नमूना संकलनका लागि डडेल्धुरा अस्पताल, अमरगढी नगरपालिका, गन्यापधुराका गाउँपालिका र नवदुर्गा गाउँपालिकाबाट जनशक्ती खटाइएका थिए। जसको आयोजना स्वास्थ्य कार्यालयले गरेको थियो भने सहयोग अमरगढी नगरपालिकाले गरेको थियो। तर पिडीतहरुको गुनासोबारे भने दुवै कार्यालय एक अर्कामाथि दोष लगाएर पन्छिन खोजेका छन्। 

स्वास्थ्य कार्यालयका प्रमुख आसुतोष श्रेष्ठका अनुसार उक्त स्थानमा अमरगढी नगरपालिको क्वारेन्टाइन रहेको छ र नगरपालिकावासीको नमूना संकलन भएकाले सबै व्यवस्थापन नगरपालिकाले गर्नुपथ्र्यो। ‘धेरै सानो कुरा हो हामीलाई भनेको भए २० रुपैंयाको पानी व्यवस्थापन गर्न के ठुलो कुरा थियो र’ उनले भने, ‘उक्त स्थानमा अमरगढी नगरपालिकाको क्वारेन्टाइन छ। त्यहाँ पिउने पानी र साबुनको व्यवस्थापन हुनुपर्ने।’

तर अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले मुख्य आयोजक स्वास्थ्य कार्यालय भएकाले सबै व्यस्थापनको पाटो उसैले हेर्नुपर्ने बताएका छन्।  ‘हामी त सहयोगी हौं, स्वास्थ्य कार्यालयले आयोजना गरिसकेपछी सबै व्यवस्थापन उसैले गर्नुपर्ने’ उनले भने।’

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस