सुदूर नेपाललाई विश्वसँग जोड्दै

हो अब आँसु खसाउनु पर्दैन

२०७७ जेठ १०, ०२:४५

-श्याम भण्डारी

गरेँ है प्रभुलाई पूर्ण समर्थन
सुनाईदिनु है जनता जनार्दन

कोरोनाले मारे अर्कै कुरा
नेपालीले अब मर्नु पर्दैन
भोकमरीले मारे अर्कै कुरा
नेपालीले अब मर्नु पर्दैन
अभावले रुवाए अर्कै कुरा
नेपालीले अब रुनु पर्दैन

आँखाले आफैँ गद्दारी गरे अर्कै कुरा
देश प्रतिको गद्दारीले आँसु खसाउनु पर्दैन
आन्दोलनमा रगत बगे अर्कै कुरा
अधिकारका लागि अब रगत बगाउनु पर्दैन

महङ्गीले थिचे अकै कुरा
नेपालीले अब निस्सासिनु पर्दैन
बेरोजगारीले खाडी भासिए अर्कै कुरा
नेपालीले अब खाडी भासिनु पर्दैन

गोकुल धूपमा सत्तरी करोड जले अर्कै कुरा
भ्रष्टाचारबाट नेपालीले अब जल्नु पर्दैन
कालापानी र लिपुलेकका स्तम्भ ढले अर्कै कुरा
सीमामा गौतम र जङ्गेपिल्लर अब ढल्नु पर्दैन

अध्यादेश काण्डले पार्टीहरु फुटे अर्कै कुरा
वाईडबडीमा कुनै पार्टीको मन फुट्दैन
सत्ताका लागि खिचातानी अर्कै कुरा
कमिसन–बण्डामा राष्ट्रिय एकता टुट्दैन

निर्मलाको बलत्कार भए अर्कै कुरा
नारीले अब असुरक्षित महसुस गर्नु पर्दैन
मुस्कान खातुनको मुहार जले अर्कै कुरा
महिला अधिकारविना कसैले जल्नुपर्दैन

गरिबले पढ्न नपाए अर्कै कुरा
धनीले डाक्टरी पढ्न छोड्नु पर्दैन
जनताले भात खान नपाए अर्कै कुरा
पाइलटले मार्सी खान धान गोड्नु पर्दैन

सुनकाण्ड छिपे अर्कै कुरा
बालुवाटारको जग्गा कहिँ छिप्दैन
हिँसाले देश अशान्त भए अर्कै कुरा
देशमा शान्तिको ज्योति कहिल्यै निभ्दैन

कोरोनाले कमिसन मागे अर्कै कुरा
ओम्नीले कमिसन अब माग्दैन
होलीवाइन पिएर उडे अर्कै कुरा
यतीको जहाजमा राज्यको सम्पत्ति उड्दैन

नेपाल अघि बढ्यो बढ्यो
कसैले दगुर्नु पर्दैन
चुच्चे रेल गुड्यो गुड्यो
अब समृद्धि कुर्नु पर्दैन

गणतन्त्र हो यो गणतन्त्र
राजाको राजतन्त्र चल्दैन
जनताको जनतन्त्र भन्दै गर्ने
नयाँ नवाबको शासन ढल्दैन

समाजवाद आइसकेको देखेनौ र?
अब गरिबीको पीडामा रुनु पर्दैन
माक्र्स त मै हो नि, चिनेनौ र ?
असमानताको अब बिलौना गर्नुपर्दैन

न्यायको आँखामा पट्टि देखेनौ र ?
न्यायको लागि अब आँसु खसाउनु पर्दैन 
सत्य सत्य धरोधर्म, अब आँसु खसाउनु पर्दैन
हो कसैले पनि अब आँसु खसाउनु पर्दैन
हो अब आँसु खसाउनु पर्दैन

 

कमेन्ट लोड गर्नुस