सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरु गाउँपालिका ४ को कार्यालयमा तालाबन्दी

२०७७ जेठ ७, १०:२२ खबर संवाददाता

धनगढी : डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर  ४ चिपुरको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाले लकडाउनका समयमा जिल्लाबाहिर लगायत अन्य ठाँउबाट आएका कसैलाई क्वारेन्टानमा राखेको र कसैलाई घर जान दिएको भन्दै स्थानीयले मंगलबार राती वडा कार्यालयमा ताला लगाएका हुन।  

जिल्ला बाहिरबाट आएका गरिब जनतालाई क्वारेन्टाइनमा ठेल्ने र पहुँच भएकाहरुलाई घर जान दिने गरेको भन्दै तालाबन्दी गरेकोे स्थानीयले बताए।  ‘हुनेखाने धनी वर्ग तथा  जनप्रतीनिधीसंग नजिक रहेका स्थानयीलाई शक्तिको भरमा लुकाएर घर पठाइने गरेको छ’ स्थानीय राम विष्टले भने, ‘गाउँपालिका आफैले बनाएको निती नियम त मिच्नु भएन नी।’

बाहिरबाट आएकालाई घर जान दिइ कोरोनाको जोखिम बढेकोमा जनप्रतीनिधीको ध्यानाकर्षण गराउन वडा कार्यालयमा ताला लगाएका अर्का स्थानीय जयप्रकाश भट्टले बताए। ‘जिल्ला वन कार्यालयमा कार्यरत कर्मचारी भवानी सिँह ऐडी हालै मात्र कञ्चनपुरबाट आएको तर उनी क्वारेन्टाइनमा बस्न नमानेकाले बाध्य भएर ताला लगाएका हाैं’ उनले भने, ‘उनी जिल्लामै रहेको कुरा पुष्टि गर्न वन अधिकृतले समेत जाली कागजात बनाएर घर पठाउने षडयन्त्र गरे, के क्वारेन्टाइनमा गरिब जनताले मात्रै बस्ने हो र ?’ उनलाई क्वारेन्टाइन नबसाएर घर पठाउन गाउँपालिका अध्यक्षले समेत भुमिका खेलेको उनले आरोप लगाए।  

 

कमेन्ट लोड गर्नुस