सरकार भारतसंग लम्पसार परेको भन्दै नेविसंघ कैलालीले बुझायो ज्ञापन
धनगढी : सत्ता जोगाउन सरकार भारत सामू लम्पसार परेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ कैलालीले जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाली भूमि मिचेर सडक बनाएकोमा भारतलाई दार्चुलाको लिपुलेकबाट फिर्ता गराउन सरकारले उच्च स्तरीय कुटनिटिक पहल थाल्नुपर्ने भन्दै नेविसंघले ४ बुँदे ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगत ६ महिना पहिले कालापानी लगायत भू–भागहरु आफ्नो नक्सामा राखी भारतले प्रकाशित गर्दा यो सरकारले राष्ट्रियताको पक्षमा दृढ नलिई भारतको सामू लम्पसार परेकोले आज यो स्थिती सृजना भएको हाम्रो ठहर छ।’
नेविसंघ कैलालीका कार्यवाहक सभापति भेष बहादुर बमद्वारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत सरकारलाई खबरदारी तथा ध्यानाकर्षण गराइएको छ। उनीहरुले आफ्ना पक्राउ परेको नेता तथा कार्यकर्ता रिहाइको मागसहित विभिन्न दवाद दिई भारतलाई गल्ती सच्याउन बाध्य पार्नुपर्ने माग राखेका छन्।
साथै ज्ञापनपत्रमार्फत सरकारले राष्ट्रिय संकटका बेला तदारुकता नदेखाए आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी समेत दिइएको छ।