सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले श्रमिक वर्गलाई काममा आधारित राहत दिने नीति ल्यायो

२०७७ वैशाख ३०, ०९:०६

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्ने श्रमिकलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले काम दिएर राहत दिने नीति ल्याएको छ। 

उपमहानगरपालिकाले लकडाउन समयावधिमा दुईपटक राहत प्याकेज ल्याएर वितरण गरिसकेको भए पनि गरिब तथा मजदुर वर्गलाई अझै दैनिक उपभोग्य सामानमा कमी हुन थालेपछि काममा आधारित ज्याला दिएर राहत दिने नीति ल्याइएको बताइएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

हालसम्म श्रमिक तथा विद्यार्थी गरेर १३ हजार ३०७ परिवारलाई राहत वितरण गरेको उपमहानगरपालिकाले अब भने श्रमिकलाई काम दिएर कामवापतको पारिश्रमिक दिई राहत दिन थालेको नगरप्रमुख वडले बताए। उनले भने, “दुई महिना विकास निर्माणका काममा अवरोध भएका कारण नगरमा भइरहेका विकासे काममा श्रमिकलाई सामाजिक दूरी कायम गरी कामवापत उनीहरुलाई उचित पारिश्रमिक दिनेछौँ।”

लकडाउनका कारण घरमै बसिरहेका श्रमिकलाई परिचालन गरेर विकास निर्माण पनि गरिने र उनीहरुलाई पारिश्रमिक दिई आत्मनिर्भर बनाउन उपमहानगरपालिकाले यो निर्णय गरेको जनाइएको छ। रोजगारीको सिलसिलामा भारत गएकाहरु लकडाउनका कारण स्वदेश फर्केपछि उनीहरुलाई पनि आफ्नै गाउँघरमा स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम दिई काम गराउनुका साथै कृषि तथा अन्य व्यवसायमा प्रेरित गर्न पनि उपमहानगरपालिकाले योजना बनाएको प्रमुख वडको भनाइ छ।

“तत्काल हामी श्रमिकलाई काम दिएर राहत उपलब्ध गराउँछौँ”, उनले भने, “लगत्तै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उनीहरुको मागबमोजिमको काम दिई स्वरोजगार बनाउन नयाँ प्याकेज ल्याउने छौँ।” उपमहानगरपालिका अन्तर्गतको विपद् तथा वातावरण व्यवस्थापन उपसमितिका संयोजक प्रेमसिंह विकका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म नगरका १९ वटै वडामा तीन हजार ९१७ क्विन्टल खाद्यान्न र त्यही मात्रामा दाल, चिनी, नुन, तेल, साबुनलगायतका राहत सामग्री वितरण गरिएको छ। 

उनले राहत लिन छुट रहेका परिवारलाई पनि उपमहानगरपालिकाले राहत वितरण गरिरहेको बताए। “हामी अझै पनि छुटेका परिवारलाई पहिचान गरेर राहत वितरण गरिरहेका छौँ”, संयोजक विकले भने, “कोही नछुटुन् र कोही नदोहोरिउन् भनेर नै हामी रातदिन राहत दिन खटिइरहेका छौँ।” रासस
 

कमेन्ट लोड गर्नुस