सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना लकडाउनः कस्ता जनता, कस्तो सरकार?

२०७७ वैशाख २९, ०१:५८

श्याम भण्डारी

लकडाउनका बेला
बाध्यताले वा अज्ञानताले 
लापर्वाही, अटेरीगरि हिंडेको हिंड्यै गर्‍याैं
न समझदारी, न केही तयारी गर्‍याैं
न भोक पेटको, न त रोगको
सन्तुलित व्यवस्थापन गर्न सक्यौँ 
लकडाउनमा पनि हिँडीरहेको प्रमाण
अब बिस्तारै देखिँदैछ यसको असर 
थाहा छैन अझै, कती गहिरो हुने हो 
यो अदृश्य शत्रु, कोरोनाको कहर 

हामी कस्ता देशका जनता
कस्तो रहेछ सरकार हाम्रो 
कस्तो रहेछ संघीय गणतन्त्र 
लिनमात्रै खोज्ने, दिनलाई चाम्रो
न सरकारले विवश मजदुर देख्यो 
न गरिबको नाङ्गो खुट्टा देख्यो
न मेची र महाकाली हिंडेको 
थकित र भोको पेट देख्यो
न देख्यो गरिबीले भुँडी सुकेको 
न देख्यो अभावले आँखा गडेको
रोजगार दाताले पनि अफ्ठेरोमा गलहत्यायो 
फाईदा हुँदामात्रै आफुसङ्ग राख्यो,
मजदुरको पसिनाले आफ्नो खेत सिँच्यो  
श्रमीकको श्रमले आफ्नो भकारी भर्‍याैं
पैसामात्रै रहेछ उसको पनि लक्ष्य
संकटमा उसको मानवता कहाँँ झर्‍याे

यहाँ
चारैतिर राहत बाँडेको पनि देखियो 
एउटा साबुन, एक पोका नुनका लागि
एक दर्जन मान्छे र क्यामरा लगेको देखियो 
दिएको राहत फिर्ता लिएको पनि भेटियो 
दिनु नपर्नेलाई दिएको, 
लिनु नपर्नेले लिएको पनि देखियो
राहतका नाममा चन्दा उठाएको 
तर गरिबले पाउदै नपाएर 
भोकै तड्पेको पनि देखियो
प्रधानमन्त्री र स्वास्थ्यमन्त्री बेखबर 
खबरमा आउँदा त 
डाक्टर आँफैँ बनेको पनि देखियो  
असली डाक्टरलाई चाँही
कामै गर्न नदिई  
कारबाहीमा तान्न खोजेको पनि देखियो 

कस्तो शासन प्रणाली, कस्तो व्यवस्था
कस्तो विवेक, कस्तो बौलठ्ठी सरकार   
डाक्टर नर्सले मास्क पिपिई नपाउँदा
नेताहरुले सुट लगाएर फोटो खिचे भरमार  
महामारिको बेलापनि ओम्नीसंग मिली
कमिसन र घुस खान छोडेनन
काखीमा बालक च्यापेर हप्तौँ पैदल यात्रामा
सुन्निएका खुट्टा र रित्तो पेट रुँदापनि
प्रम ज्यू कविता लेखेर बसे, तर रोएनन

यस्ता बेलामा,
जनतालाई महामारीबाट जोगाउन
संकटमा सर्वपक्षिय सहमति जुटाउन 
प्रतिपक्षी संगपनि मिल्नुपर्ने बेलामा
अध्यादेश आयो आफ्नै पार्टी फुटाउन
बिपत्तिका बेलापनि लाजै नमानी
सत्ताको रस्साकस्सीमा हिलाम्य भए
केहीदिन कुर्सी बचाउन
चुनावै हारेकालाई कुर्सीदिने   
अलोकतान्त्रिक प्रस्ताव सम्म गर्नपनि भ्याए
प्रेस र सारा बिरोधीलाई निषेध गर्न 
अस्गर अलीलाई स्वतन्त्र मिडिया मार्न
तानाशाही शासकले सरकारी चाबी थमाए

कस्तो अचम्म
बन्दाबन्दीमा पनि साँसदले 
तलब सुबिधा सबै पाउने 
केही व्यक्तीले १/२ महिनाको तलब
कोरोना कोषलाई दिएजस्तो गर्ने  
संसद बन्द, सांसद कामै नगर्ने  
रातदिन खटिने प्रहरीको चाँही तलब काटिने      
निजी स्वास्थ्य संस्थाले 
सेवा बन्द गर्दापनि मौन रहने
अनेक घोटाला र काण्डमा पनि
बाँडफाँडमा समर्थन रहने
कस्तो प्रतिपक्ष पाएछौँ हामीले
जिब्रोमा करेन्ट लागेकाले होला
अलीअली बड्बडाए जस्तो गर्ने 
आफ्नै काण्डहरु उदाँगिन्छन कि भनी
धेरै कुराहरु चुपचाप सहेर बस्ने

हामी कस्ता जनता
बन्दाबन्दी भएको १/२ हप्तापनि
बचत रहेनछ, खान पुग्ने 
अचम्मैका हामी
हातमा व्यक्ति पिच्छे 
ठूला–ठूला मोबाइल हुने 
तर घरमा २ हप्ता पुग्ने 
खाना चाँही नहुने 
साइलीको भट्टीमा दिनदिनै 
नगदै पिउनेहरुको भीड हुने 
आफुले कमाएको सबै 
तासको खालमा दाउ लाउन मिल्ने
तर रासन पसलमा १/२ हप्ता
उधारो खानपनि नसक्ने वा नमिल्ने
लकडाउन अगाडि सम्म विद्यार्थी होस
वा काम नपाएका र नगरेका बेरोजगार
पुगेकै थियो तिनलाई 
कमाइ नभएपनि बास थियो शहर  
लकडाउन लाग्ने बित्तिकै के भयो
राहत पाइएन भन्ने बहाना आयो
सुनका औँठीवाला हात पनि
राहतको लाईनमा पसारेको देखियो
आत्तिएर होसहवास उडेर हो कि
नबुझेर हो कि धेरै बुझेर 
हिंडेको हिंड्यै गर्‍याैं
नेपाली त बहादुर हो
हुँदैन हामीलाई केही भन्यौँ
धनी र ठुला बडा
गाडी र पास मिलाएरै चले 
गरीबले केही नपाएर
घर फर्किन महाकाली मै हाम्फाले  
हामीले लकडाउनको कडा पालना नगरेरै होला
संक्रमण बढेको बढ्यै छ
सरकारले दायित्व राम्रोसंग ननिभाएरै होला
कोरोनाको पारा चढेको चढ्यै छ 

चाहे पास लिएर हिँडोस
चाहे मनमौजी रहरले 
चाहे बाध्यताले हिँडोस
चाहे डर र कहरले
कोरोनाले यो कुरा जान्दैन बुझ्दैन
उसले सोचेर सम्झेर झम्टदैन
उसले जानेर छानेर झम्टदैन
यत्ति कुरा बुझौँ
धैर्य गरौँ, लकडाउन पालना गरौँ
परीक्षण बढाऔँ, स्वास्थ्य सेवा सुधारौँ
सरकार र जनता सबै मिली
यसको साझा रुपमा सामना गरौँ
यो सूक्ष्म शत्रु कोरोनाबाट 
आफु र आफ्नालाई जोगाऔँ 

(भण्डारी फरेस्ट एक्सन नेपालमा कार्यरत छन्)
 

कमेन्ट लोड गर्नुस