सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका गाई पालक किसान मारमा

२०७७ वैशाख २८, ०१:१८ खबर संवाददाता

डडेल्धुरा : लकडाउन लम्बिदै जाँदा डडेल्धुराका जर्सी गाई पालक किसान भने मारमा परेका छन्। स्थानीय बजारमा दुधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका डडेल्धुराका भित्री मधेशका किसान यतिखेर दुध बिक्रि नभएर मारमा परेका हुन्।

दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि उन्नत जातका गाईपालन गर्न थालेका किसान बन्दाबन्दीले दुध बिक्रि गर्न नपाउँदा घाटा बेहोर्नु परेको बताउँछन्।
जिल्लाको आलीताल गाउँपालिका–४ का ३०÷३५ धरधुरी नै जर्सी गाई पालन गरिरहेकोमा दुध बिक्रि नभएपछि उनीहरु अहिले मारमा परेका हुन्। ४ बर्ष देखि जर्सी गाईपालन गर्दै आएकी आलीताल गाउँपालिका–४की मानमती बोहोराले अहिले बन्दाबन्दीले दुध बिक्रि गर्न नपाउँदा घाटा बेहोर्नु परिरहेको बताइन्।

‘दैनिक १५–२० लीटर दुध बिक्री हुन्थ्यो। दुध बिक्रि गर्दा कुनै समस्या थिएन्। अहिले बन्दाबन्दीले निकै घाटा बेहोर्नु परीरहेको छ’ उनले भनिन, ‘छिमेकीहरुलाई दुध खान दिइरहेका छौँ। तर, पनि दुध खेर गइरहेको छ।’
दुधबाट घाटा बेहोरिरहेको भएपनि कोरोना फैलिन नदिनका लागि सरकारले गरेको लकडाउन स्वागतयोग्य भएकोले यसैबाट चित्त बुझाइरहेको उनको भनाइ छ। ‘दुध विक्रिका लागि स्थानीय सरकारले पहल गरिदिए आभारी हुने थियौँ’ उनले भनिन्। 

गाईको दुधबाटै खर खर्च र छोराछोरीको पढाई खर्च चल्ने गरेको भएपनि लकडाउनले दैनिकी चलाउन समस्या भइरहेको अर्की गाईपालक किसान गोमती नेपालीले बताइन्। साना किसान सहकारी संस्थाबाट ऋण निकालेर फर्म संचालन गरेकी उनले लकडाउनले ऋण तिर्न समस्या भइरहेको दुखेसो पोखिन्।

गाईपालनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रका धेरै किसान जर्सी गाईपालनमा आकर्षित भएपनि बन्दाबन्दिले समस्या भएको परशुराम नगरपालिका– ६ का वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए। उनीहरुको समस्या समाधानका लागि गाउँपालिका र प्रदेश सरकारसँग पहल गरिरहेको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस