सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा असिनापानीले अन्नबालीमा क्षति

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख २६, १०:५९

असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ। असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो। पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन्। डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ। अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताए। 

“अन्नबालीसँगै तरकारीमा समेत क्षति पु¥याएको छ। पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो”, उनले भने, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ।” “अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन। पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भने। भित्र्याइएको खेतीसमेत नोक्सानी हुने भएको छ।

बुधबार साँझ आएको असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ। नौगाड गाउँपालिका वडा नम्बर ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ। नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्कअनुसार कृषि पकेट क्षेत्र रहेको वडा नम्बर ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ। 

असिनापानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्नबालीमा क्षति पु¥याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए। भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहेनत खेर गएको उनले बताए। वडा नम्बर २ र ३ मा बढी खेतीबाली नोक्सानी भएको छ। गाउँपालिकाले शुक्रबारसम्म क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने तयारी गरेको अध्यक्ष धामीले बताए। जिल्ला प्रशासन कार्यालयले पनि ४८ घण्टाभित्रै क्षतिको विवरण माग गरेको छ।

सोहीअनुसार गाउँपालिकाले सबै कर्मचारी परिचालन गरी हरेक बस्तीबाट क्षतिको यकिन विवरण सङ्कलन गरिने अध्यक्ष धामीको भनाइ छ। यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नम्बर २ राप्ला र वडा नम्बर ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पु¥याएको जनाइएको छ। योपटक असिनापानी बढी आउँदा किसान निरास भएका छन्।

गहुँबाली भित्र्याउन समस्या

केही दिनयता मौसममा आएको खराबीका कारण दार्चुलाका किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ। केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको हो। जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको किसानले बताएका छन्। एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न समस्या भएको अपिहिमालका किसान हरि लोथ्यालले बताए। पानीका कारण भित्र्याइएको खेती सुकाउन पाइएको छैन, घरभित्रै सड्ने अवस्थामा पुगेको छ। यो वर्ष बढी पानी परेको कारण गहुँ उत्पादन पनि घटेको छ।

यसैबीच दार्चुलाबाट निर्वाचित सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा भएको कृषिजन्य क्षतिबारे बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई असिनापानीका कारण पारेको क्षतिबारे जानकारी गराउँदै राहत तथा क्षतिपूर्तिका लागि व्यवस्थापन गर्न आग्रह गर्नुभएको सांसद ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले बताए। उनले खाद्यान्न सङ्कट समाधानका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्नसमेत आग्रह गरे। रासस
 

कमेन्ट लोड गर्नुस