असिनापानीले खेतीबाली नष्ट
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र २ भगवतीको पञ्चासेमा बुधबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट गरेपछि किसान निराश भएका छन्। पाकेर भित्र्याउने बेला भएको गहुँ, जौ, उवालगायत हिउँदे बाली असिनाले चुटेर नष्ट गरेको छ। असिनाले फलफूल, तरकारी र मकैबालीलाई पूर्ण रुपमा क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिए।
असिनाले यस क्षेत्रका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ। यसअघि पनि वैशाख १ गते राति रघुगङ्गा गाउँपालिकाको भगवती, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति गरेको थियो।
वर्षा र असिनापछि बेगखोलामा बाढी आएपछि बेनी जोमसोम सडकसमेत अवरुद्ध भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। उनका अनुसार सडक मर्मतका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई आग्रह गरिएको छ। रासस