सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको चेपुवामा परेका किसानको साथी बने डडेल्धुराका पाण्डे

२०७७ वैशाख २४, ०२:०४ खबर संवाददाता

गणेशथापा मगर, डडेल्धुरा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ कारण लकडाउन भएपछि आवतजावत ठप्प छ। यसबेला विभिन्न पक्षले सामाजिक उत्तरदायित्व निभाइरहेका छन्। त्यसमध्येकै एक हो डडेल्धुरा सदरमुकाममा रहेका लक्ष्मी एग्रोभेट। लकडाउनले गर्दा कृषकलाई मार परेको भन्दै एग्रोभेटका संचालक लोकराज पाण्डेय बिल्कुलै नयाँ तथा फरकखाले अभियान थालेका छन्। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बजारको पहुँचमा अवरोध आएका कारण एग्रोभेट सञ्चालक पाण्डेयले आफनो सेवालाई बिस्तारगरी किसानहरुलाई सहज बनाएका छन्। सदरमुकाममा रहेका विभिन्न रेडियोमा आफनो फर्मको तर्फबाट नयाँ वर्षको शुभकामना, कोरानाबाट बच्न नेपाल सरकारबाट निर्देशन भएका कुरालाई अक्षरसः पालन गर्न अनुरोधसहित उनले किसानहरुलाई एग्रोभेटबाट आवश्यक पर्ने सेवाको लागि टेलिफोन सम्पर्क गरी सेवा तथा सल्लाह लिन अनुरोध गरेका छन्। 

करिब दुई दशकदेखि सदरमुकामको बगरपाटा क्षेत्रमा एग्रोभेटमार्फत किसानलाई सेवा दिइरकेको लक्ष्मी एग्रोभेटले लकडाउनको समयमा किसानलाई आवश्यक पर्ने मल, विषादी, पशु आहारा, पशु औषधि तथा कृषि उपकरण सहजै उपलब्ध गराइरहेको छ। लकडाउन सुरु भएदेखि हालसम्म उनले नगर क्षेत्रका करिव ७५ घरधुरीलाई घरमै गएर सेवा उपलब्ध गराएको र हरेक दिन १० देखि १२ जनालाई टेलिफोनमार्फत सल्लाह दिने गरेको बताए।  

मल, बिउ, विषादी र कृषि सामग्री ओसारपसारका लागी उनले जिल्ला प्रशासन कार्यालयबाट पास बनाएका छन्। हाल अमरगढी नगरपालिका क्षेत्रमा मात्रै आफुले सेवा दिइरहेको बताउँदै उनले सामुहिक रुपमा कसैले अनुरोध गरे नगरबाहिर पनि सेवा दिन सकिने बताए। 

वर्षा भएसँगै तरकारी खेती र अन्य अन्नबालीहरुको सिजन सुरु भएको अवस्थामा एग्रोभेटसँगको पहुँचमा नहुँदा किसानहरु समस्यामा परेका थिए। तर लक्ष्मी एग्रोभेटले टेलिफोनबाट सुझावसल्लाह र घरसम्म सेवा पुर्याएकाले कृषिमा आधारित परिवारहरुको कृषिजन्य जोखिम घटाउन सहयोग गरिरहेको एकिकृत विकास समाज डडेल्धुराका कृषि प्राविधिक दिपकराज पाठकले बताए। 

लकडाउनको समयमा घरमै सामग्री पाउँदा किसान खुसी भएका छन्। एग्रोभेटले कुनै अतिरिक्त शुल्क नलिइ बजारकै भाउमा सेवा दिइरहेकाले किसानलाई सहज भएको अमरगढी नगरपालिका – ६ का अध्यक्ष गोविन्दराज भट्टले बताए। 

कमेन्ट लोड गर्नुस