सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग पठाउँदै

२०७७ वैशाख २३, ०५:५७ खबर संवाददाता

बाजुरा :  बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ।  नगरपालिकाले जिल्ला बाहिर लकडाउनका कारण समस्या परेका विद्यार्थीलाई दुई/दुई हजार सहयोग गर्ने भएको हो।

सोमबारको नगरपालिकाको बैठकले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले रकम पठाउने निर्णय गरेको हो। काठमाण्डौं, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्दनगर लगायतका शहरमा रहेका विद्यार्थीहरुलाई सो रकम पठाउने नगरप्रमुख रामसिंह रावलले जानकारी दिए।

उनले त्यसका लागि प्रत्येक वडाका अध्यक्षहरुलाई जिम्मेवारी दिइएको समेत बताए। साथै उनले जिल्ला बाहिर रहेका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेका छन्।  नगर कार्यपालिकाको निर्णय अनुसार लकडाउनको समयमा समस्या परेकाहरुलाई सम्बन्धित नगरमा फिर्ता ल्याउन समस्या भएको हुँदा सम्बन्धित ठाउँमा नै  सहयोग गरिने भएको हो। 

त्यस्तै नगरपालिकाको आपुर्ति समितिको बैंठक पनि सोमबार नै बसेको थियो। बैंठकले नगरपालिकाका  छतारामा ५०, तोलीमा ७० र कैलाशमाण्डौंमा ८० ब्याडका क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ।  हालसम्म जिल्ला भन्दा बाहिरबाट आएका महिला, पुरुष र बालबालिका गरी ८८ जनालाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ।

कमेन्ट लोड गर्नुस