घर–घरमा मल र बीउ पुर्याउँदै साना किसान सहकारी
झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पु¥याउन थालेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पुर्याउन थालेको हो।
किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिए। “सेवा क्षेत्र रहेको भद्रपुर वडा नम्बर ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु¥याउन शुरु गरिएको छ”, उनले भने, “लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ।”
संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ। संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो। समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ। रासस