सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै तीन सय वर्षपछि डडेल्धुराको गन्याप मन्दिर जिर्णोद्धार

२०७७ वैशाख १६, ०७:२९ खबर संवाददाता

डडेल्धुरा:  सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध धार्मिकस्थल गन्याप मन्दिरको जिर्णोद्धार कार्य शुरु भएको छ। मन्दिर निर्माण भएको झण्डै तीन सय बर्षपछि मंगलबारदेखि पाँच दिनभित्रै सम्पन्न गर्नेगरी मन्दिर जिर्णोद्धार कार्य शुभारम्भ गरिएको छ। 

मन्दिर जिर्णोद्धार कार्यको शुभारम्भका अवसरमा रुद्री, चण्डी पाठ सम्पन्न गरिएको र विश्व मानव समुदायलाई कारोना महामारीबाट मुक्ती दिलाउन नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले संकल्प पाठ गरेको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ।

परम्परा अनुसार मन्दिर जिर्णोद्धारका लागि गन्याप देवताका सबै जिम्मेवार ब्यक्तिहरुले काम गर्ने भए पनि जारी लकडाउनका कारण सामाजिक दुरी कायमै राखेर मन्दिर जिर्णोद्धार गरिने मन्दिरका पुजारी विष्णुप्रसाद ओझाले जानकारी दिए। 

डडेल्धुरा मात्रै नभई डोटी जिल्लाको घण्टेश्वरदेखि लोखाडी गाडसम्मका बासिन्दाहरुले समेत आराध्य देवताका रुपमा पुजा अर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत श्रृंखलाको अति रमणीय स्थलमा रहेको छ। सो मन्दिर जिर्णोद्धार गर्न गन्याप देवताका धामीले भाका दिए अनुसार पाँच दिनभित्रै मन्दिर जिर्णोद्धार गरिने स्थानीय अगुवा सुरेन्द्र मालीले बताए।

गन्याप मन्दिरको धुरी बनाउन डोटीको शिखर नगरपालिकाबाट सालको काठ बोकेर ल्याउने परम्परा छ। परम्पराअनुसार सबै काम सम्पन्न गरेर  पाँच दिनभित्रै मन्दिर जिर्णोद्धार कार्य सम्पन्न गरिने गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताए।

कान्छो खप्तड भनरे चिनिने गन्यापधुरा मन्दिर क्षेत्र प्राकृतिक सुन्दरताले भरिपुर्ण भएकाले पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन्।

 

कमेन्ट लोड गर्नुस