सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ गाडी रहेको धनगढी उप–महानगरपालिकाद्वारा स्वास्थ्य सामाग्री ल्याउन भाडाको गाडी प्रयोग

२०७७ वैशाख १, ०४:५५ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले स्वास्थ्य सामाग्री ढुवानीका लागि भाडाको गाडी प्रयोग गरेको छ। उप–महानगरपालिकासंग पाँच वटा गाडी रहेपनि काठमाडौँबाट स्वास्थ्य सामाग्री ल्याउन भाडाको गाडी प्रयोग गरिएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा उप–संयोजक लक्ष्मीराज उपाध्याय स्वास्थ्य सामाग्री खरिदका लागि चैत २९ गते काठमाडौँ गएका थिए। उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार दैनिक भाडा तिर्ने गरी गाडी लगिएको हो। तर उनले गाडी नम्बर र जम्मा भाडाको बारेमा भने बोल्न मानेनन्। धनगढी उप–महानगरपालिकामा मेयर, उप–मेयर, कार्यकारी अधिकृतले प्रयोग गर्ने गाडी र अन्य दुई गाडी अहिले कार्यालयमा छन्।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले पाँच गाडीमा मेयरले प्रयोग गर्ने गाडी बाहेक अन्य चार गाडी आकस्मिक सेवाका लागि राखिएका बताए। उनले भने, ‘हामीलाई अहिले गाडीको अभाव छ। कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण गर्दै छाँै। १९ वटै वडामा राहत सामाग्री पर्याउनुपर्ने हुन्छ। चार गाडीहरु राहत ढुवानीमा प्रयोग भएकाले भाडाको गाडी प्रयोग गरेका हौ।’

तर उनले पनि गाडीको भाडाका बारेमा भने जानकारी नभएको बताए। उपाध्याय आज धनगढी फर्किदैछन्। उनका अनुसार काठमाडौँबाट ५० सेट पिपिइ, जरो नाप्ने उपकरण १५ वटा, १२ हजार मास्क, किटनासक औषधी, सेनिट्राइजर लगाएतका स्वास्थ्य सामाग्री धनगढी उप–महानगरपालिकाले खरिद गरेको हो।

कमेन्ट लोड गर्नुस