लकडाउनः जनताले बुझेनन् वा सरकारले बुझाउनै सकेन ?
श्याम भण्डारी
कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले दोश्रो विश्वयुद्ध पछिकै ठूलो संकट भनेको छ। हालसम्म २ सय १० देश र २ वटा पानी जहाजका १८ लाख ५० भन्दा बढी मानिस संक्रमित भएका छन भने १ लाख १४ हजार बढीको मृत्यु भइसकेको छ। कोरोनाभाईरसको यो महामारी विश्व संकटबाट बच्न धेरै देशले कडा लकडाउन अर्थात बन्दाबन्दी गरेका छन्। नेपाल सरकारले पनि चैत्र ११गते देखी लकडाउनको घोषणा गरेको थियो जुन बैशाख ३ गते सम्म कायमै छ। तर लकडाउनका बाबजुद मानिसहरु यात्रागर्न वा घर बाहिर निस्कन भने छोडेका छैनन्।
हिजो मात्रै एउटा सञ्चार माध्यममा छापिएको खबर तथा फोटोले झस्कायो। बल्खुको तरकारी बजारमा सुरक्षा सतर्कता बिना नै हजारभन्दा बढी मान्छेको भिड रहेछ। अस्ती भर्खरमात्रै अर्का सञ्चार माध्यममा सोलुबाट काठमाण्डौँ हुँदै कैलाली हिँडेकाहरुको दर्दनाक कथा पढियो। सोलुखुम्बुबाट आधाबाटो हिँडेर र आधाबाटो ट्रकको पछाडी बसेर खुल्ला आकाशमुनि रात गुजार्दै १५ जना मजदुरको समुह कैलाली पुगेका रहेछन्।
यस्तै चितवनबाट १२ दिन हिँडेरै ६६ जनाको भारतीय समुह बाँकेकाे कोहलपुर पुगेको समाचार छापियो। त्यस्तै ३१ जना मजदुरहरुको समूहपनि काठमाण्डौँबाट पाँच दिन हिँडेर बाँके पुगे। यसैगरी थुप्रै मानिसहरु लकडाउनका बिच दुःखकष्ट सहँदै आफ्ना घर जान लामो यात्रामा हिँडेका छन्।
नेपाल–भारतको १ हजार ८ सय ८० किलोमिटर लम्बाईको सिमानामा ९ सय २५ स्थानमा चेक प्वाईन्ट छन्। यसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा पहरा दिएकै छन् तर भारतबाट नेपाल आउने क्रम रोेकिएको छैन। इलामको पशुपति नगरदेखि दार्चुलाको खलङ्गा सम्मका नाकाबाट मान्छे जबरजस्ती नेपाल छिरे। सुदूरपश्चिममा ट्यूब चढेर महाकाली तरेर भएपनि आउने क्रम रोकिएको छैन। प्रदेश नं २ मा वारिपारी बसाई र खेती मिसिएको हुनाले बाली भित्राउने र गाईवस्तु चराउने निहुँमा ओहोरदोहोर गर्न खोज्छन भन्ने समाचार पढेको थिएँ।
भारतमा पनि एउटी आमाले आफ्नो १७ वर्षको छोरालाई घर ल्याउन तेलंगनाको निजामा बादबाट सात सय किलोमिटर पार गरेर आन्ध्र प्रदेशको नेल्लोर शहर पुगिन। उनले १४ सय किलोमिटरको यात्रा स्कुटरमा ओहोरदोहोर गरेको टाईम्स अफ भारतले जनाएको छ।
यहि चैत्र २८ गते सरकारले बन्दाबन्दीमा परेका जनताको लागि भनेर २ दिन उपत्यका बाहिर जान सवारी खुल्लागर्ने निर्णय गर्दा प्रदेश सरकारको असहमतिपछि फिर्ता लिएको थियोे। काठमाण्डौँबाट हिँडेर मानिसहरु तराई तथा आफ्नो घरतिर हिँड्न थालेको समाचारहरु आएपछि सरकारले यस्तो निर्णय गरेको थियो।
यी त प्रतिनिधी घटनामात्रै हुन। हाम्रै वरिपरी पनि मान्छेहरुको आवतजावत भइरहेकैछ। मान्छेहरु भेलाभइ चोक र चिया पसलमा गफ हानेकै छन्। जुवातास खेल्न बसेकै छन्। दूध तरकारी किन्न टोल नजिकका पसलमा भिड गरेकै छन्।
जनताले लकडाउन बुझेनन् वाबाध्यताले हिँडे? बाध्यता नै थियो भने किन बाध्यभए यो महामारीमा पनि जोखिम मोलेर हिँड्न? यो संकटको घडीमा घर जानै पर्ने, मन लागेको खानै पर्ने, घुम्नै पर्ने, तरकारी किन्नै पर्ने आवश्यकता के नै छ?
सोलुखुम्बुमामा र्भुदोभान हाईड्रोपावर कम्पनीमा कामगर्ने मजदुरहरु खानबस्न समस्या भएपछि बाध्यताले कैलाली हिँडेका रहेछन्। काम बन्द हुँदा कम्पनीले खानबस्न जस्तो न्यूनतम व्यवस्थापनि गरेको रहेनछ। सरकारले त्यस्ता कम्पनीमा काम गर्ने मजदुरहरुलाई काम नभएको अवधिको निशुल्क खाने बस्ने सुविधा उपलब्ध गराउ भनेर निर्देशन गरेको पाइएनन् त आफैँले उनीहरुको ग्यारेन्टी लियो।
माथिका उदाहरण र भारतबाट आउनेहरुको एउटै व्यथा हो, काम बन्द हुनु र रोजगारी गुम्नु। मरे आफ्नै देश, आफ्नै घरमा मर्छु भनेर आएका छन्। यहाँनेर एउटा जिम्मेवार नागरिकले बुझ्नै पर्ने कुरा के छ भने, सकेसम्म आफु जहाँ छु त्यहीँ लकडाउन पालना गरेर बसे सुरक्षित भइन्छ। धेरै लामो यात्रा गर्दा धेरै मान्छेको सम्पर्कमा आइन्छ, धेरै सामग्री र वस्तुहरु छोइन्छ, धेरै ठाउँको हावामा सास फेरिन्छ र जोखिमझनै बढ्छ।
बरु घरमै मर्छु भनेर सोच्दा यो पनि सोच्नुपर्छ कि यदि तपाँई हामीसंगै कोरोनाको भाइरस घरसम्म आयो भने घरपरिवार र सारा गाउँ टोललाई नै सखाप पार्नसक्छ। मानौँ तपाँईमा भाइरसको संक्रमण देखियो भने पनि तपाँईलाई सरकारले घर बस्न दिँदैन, घरपरिवारले हेरचाह गर्न मिल्दैन, अस्पतालमै एकान्त बासमा राख्छ। आखिर मृत्यु नै भइएछ भनेपनि भोली परिवारले सदगती गर्न समेत पाइँदैन। यस्तो अवस्थामा आफ्ना प्रिय घरपरिवारलाई मुत्युको जोखिममा पार्न किन घरतिर जाने। त्यसैले जो जहाँ छ त्यँही सुरक्षित बस्दा संक्रमणबाट बच्न सकिन्छ।
यस्तो बेलामा खान बस्न सापटी मागेर हुन्छ कि पुरानो कमाएको बचतबाट हुन्छ, जसरी सुरक्षितहुन सकिन्छ, त्यसरी सुरक्षितभएर बस्ने बेलाहो। यो बहानामा हिँडडुल र यात्रागर्ने बेला कदापीहुँदै होइन। जसलाई साँच्चिकै खानाको पनि समस्या भइसकेको छ, आफुसंग पैसा पनि छैन, सापटी पाउनपनि गाह्रो छ, कम्पनी वा कामगर्ने ठाउँबाट पनि सहयोग भएन, उसलाई सरकारले सहयोग गर्नुपर्छ। जो जहाँ मजदुरी गर्छ उसलाई त्यही व्यवसाय वा कम्पनीले न्यूनतम मानव अधिकारको रक्षार्थ खानेबस्ने व्यवस्था गर भनेर सरकारले निर्देशन दिनुपर्छ। यदि यसो गर्न नसके सरकार आफैँले खानेबस्ने व्यवस्था मिलाउनुपर्छ चाहे त्यो जुनसुकै देशको नागरिक नै किन नहोस।
विपत्तिका बेला समस्यामा परेका आफ्नो देशमा भएका सबै आफ्ना वा अन्य देशका नागरिक, त्यसको दायित्व सरकारकै हुन्छ। यसका लागि सरकारले अन्य देशका सरकारहरुसँग पनि समन्वय र सहकार्य गरेर विदेशमा भएका नेपालीहरुलाई विदेशमै सुरक्षित राख्ने प्रयास गर्नुपर्छ।
तर सरकारले लकडाउन के हो भन्ने जनतालाई बुझाउनै सकेन। यस्तो बेलामा यात्रा गर्नु साह्रै जोखिम हो भनेर बुझाउनै सकेन। लकडाउनगर्नु अगाडी पनि काठमाण्डौँबाट लाखौँ मानिसहरु देशका कुनाकुना पुगे। यसरी भिडभाडमा यात्रागर्दा संक्रमण फैलन सक्ने सम्भावनालाई न त सरकारले सचेत गरायो न त जनताआफैँ सचेत भए। यहीआवागमन र यात्राले चीनको वुहानबाट सारा संसारमा महामारी सरेको यथार्थ हो, यत्ति बुझाउन सकेको भए र जनताले बुझेको भए, धरै राहत हुन्थ्यो।
यो कुरा बुझाउन मिडीयाहरु पनि चुकेकै हुन। यहाँनेर सोलुबाट काठमाण्डौँ हुँदै कैलाली हिँडेकाहरुको कथाको बारे चर्चागर्नु सान्दर्भिक हुन्छ। लेखकले यो दर्दनाक कथा हृदयस्पर्शी तरीकाले लेखे तर उनले एक शब्द समेत जनताले यसरी यात्रा गर्नु र सरकारले यसरी यात्रागर्न दिनु लकडाउनको उल्लंघन हो, यो कार्य गलत हो र जोखिम बढाउने सम्भावित कारक हो भनेर लेखेनन्।
त्यसैगरी यस्तो विषम परिस्थितीमा सकेसम्म तरकारी दुधजस्ता खाद्यवस्तु किनमेल गर्न पनि दिनहुँ निस्कदाँ जोखिम बढ्छ। किन्न निस्कँदा सुरक्षित उपाय अपनाउने त गर्नैपर्छ साथसाथै एकैचोटी अलि धेरै दिनलाई पुग्ने गरी किनेर राख्नुपर्छ। अझ सबैभन्दा उत्तम उपाय त एकदुई हप्ता सुख्खा तरकारी दालभात मात्र खाँदैमा के नै फरकपर्छ र? मरिन्न त होला। सादाखाना मात्रै खाएर भएपनि यो संकटलाई पार लाउनुपर्छ। संकट टरेर बाँचेछौँ भने चौरासी व्यन्जन बनाएर खाएपनि भयो। तर लकडाउन भनेको अति आवश्यक कामबाहेक कतै निस्कनु हुँदैन भन्ने बुझ्नैपर्छ ।
धन्य छौँ हामी, यतिका कमजोर तयारी, लापरवाही र अपर्याप्त रोकथामका बाबजुद खासै कोरोनाको संक्रमण फैलिएको छैन तर सधैँ यहीअवस्था रहिरहला भन्न सकिन्न। त्यसैले सबैले लकडाउनको कडा भन्दा कडा पालना गरौँ। अन्यथा कोरोनाको भयंकर महामारी फैलिए ईटाली, स्पेन र अमेरीकाले सम्हाल्न नसकेको यो अदृश्य सूक्ष्म भाइरसलाई हाम्रो देशको कमजोर पूर्वाधार, अपर्याप्त प्रविधी तथा सिमीत जनशक्तिले नियन्त्रण गर्न सक्ने हैसियत छैन। नयाँ वर्ष २०७७ कोरोनामुक्त वर्ष बनोस, एकान्त बासबाट भगवान पशुपतिनाथसंग यही प्रार्थना छ।
(लेखक फरेस्ट एक्सन नेपालमा कार्यरत छन्। उनी वन–वातावरण तथा समसामयिक विषयमा कलम चलाउँछन्)