सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ संसदीय समितिले पाए पूर्णता,यी हुन् नवनिर्वाचित सभापति

२०८३ वैशाख ४, ०४:५८ खबर संवाददाता

काठमाडौं: सङ्घीय संसदअन्तर्गतका संसदीय समितिहरूले सभापति चयनसँगै पूर्णता पाएका छन्। शुक्रबार १२ वटा समितिमा सभापति चयन भएसँगै समितिहरूले औपचारिक रूपमा पूर्णता पाएका हुन्।

निर्वाचन प्रक्रियामा १० वटा समितिमा सभापति सर्वसम्मत रूपमा चयन भए भने दुई वटा समितिमा प्रतिस्पर्धा भएको थियो।

सर्वसम्मत रूपमा चयन हुनेहरूमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल तथा महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी रहेका छन्।

यस्तै, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित भए। उनको एकल उम्मेदवारी परेको थियो।

दुई वटा समितिमा भने प्रतिस्पर्धा भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा भएकोमा कार्की निर्वाचित भए।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन र गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो। यसमा शेरचन विजयी भइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतका कारण प्रतिस्पर्धा भएका दुवै समितिमा उक्त दलका उम्मेदवार विजयी भएका हुन्।
 

कमेन्ट लोड गर्नुस