धनगढी उपमहानगरपालिका लाई विभिन्न बैंक तथा वित्तिय संस्थाद्वारा खाद्यान्न सहयोग
धनगढी: धनगढीमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले लक डाउनका कारण छाक टार्न समस्या भएकाहरुका लागि भन्दै धनगढी उप–महानगरपालिको विपद् व्यवस्थापन समितिलाई खाद्यान्न उपलब्ध गराएका छन्।
बिहीबार बैंक तथा वित्तिय संस्थाहरुले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टलाई खाद्यान्न तथा नगद उपलब्ध गराएका हुन। जसमध्ये कञ्चन डेभलपमेन्ट बैंकले ४३ कट्टा चामल, ८ कट्टा दाल, १ सय पिस साबुन, २ कट्टा नुन र १० पेटि तेल धनगढी उपमहानगरपालिकालाई सहयोग गरेको छ।
त्यस्तै खप्तड बचत तथा ऋण सहकारी संस्थाले समितिलाई १५ हजार नगद सहयोग गरेको छ। बाल हेल्प लाइन नेपालले ५ सय २५ किलो चामल, प्रभु बैंकले ५० कट्टा चामल, १० कट्टा दाल र ५० पाकेट नुन सहयोग गरेको छ।
त्यस्तै एसबिआई बैंकले सात सय ५० किलो चामल, ५० किलो दाल, २ पेटि तेल,१५० किला नुन, १५० पिस साबुन र ५० थान मास्क सहयोग गरेको छ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाक टार्न समस्या भएकाहरुका लागि सहयोगीले गरेको राहतमा खाद्यान्न किन्न सक्ने र घरमा खाद्यान्न भएकाहरुले लालच नदेखाउन अनुरोध गरेका छन्। उनले भने, ‘हुने खाने र किन्न सक्नेले झुटो विवरण दिएर राहत बुझेको पाइएमा कारवाही गरिने छ।’