‘नेपालमा ढुक्क भएर लगानी गर्नुस्’:अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।
चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण निर्माण, देशमै रोजगारी सिर्जना तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीति कार्यान्वयन गरिरहेको बताए।
सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उनले बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माणका लागि पहल भइरहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै बजेटमार्फत आर्थिक राजकाजको दिशा परिवर्तन गर्न खोजिएको उल्लेख गरे। पहिलो वर्ष सुधारको सुरुआत मात्रै भएकाले आगामी दिनमा त्यसको प्रभाव अझ स्पष्ट देखिने उनको भनाइ छ।
प्रवासमा रहेको नेपाली पुँजी र लगानीलाई नेपालमा परिचालन गर्ने विषय पार्टीको घोषणापत्रमै उल्लेख रहेको बताउँदै उनले सरकारले त्यसका लागि विशेष पहल गरिरहेको जानकारी दिए।
उनले रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने कामसमेत अघि बढिरहेको बताउँदै राम्रो सीप, ज्ञान र क्षमता भएका व्यक्तिलाई त्यस्ता उद्योग सञ्चालनमा सहभागी गराउने तयारी रहेको बताए। यसमा प्रवासी नेपालीहरूले समेत सहभागिता जनाउन सक्ने उनको भनाइ छ।