सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बृहत् रक्तदान महोत्सव, ८१ जनाले गरे रक्तदान

२०८३ साउन ३०, ०६:०९ खबर संवाददाता

धनगढीः धनगढीमा आयोजित १८औँ बृहत् रक्तदान महोत्सवमा ८१ जनाले रक्तदान गरेका छन्। बैतडी समाज कैलालीको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित कार्यक्रममा ५५ पुरुष र २६ महिलाले रक्तदान गरेका हुन्।

रक्तदान गर्ने ८१ जनामध्ये ४९ जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम संयोजक वीरबहादुर महराले जानकारी दिए। सुदूरपश्चिम क्षेत्रमा देखिँदै आएको रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय युवा, उद्योगी तथा व्यवसायीको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संकलन गरिएको रगतले आकस्मिक अवस्थामा रहेका बिरामीको उपचार तथा जीवनरक्षामा सहयोग पुग्ने बैतडी समाजका अध्यक्ष गजेन्द्र वीर चन्दले बताए।

रक्तदानसँगै महोत्सवअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। विभिन्न स्वास्थ्य संस्थाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको शिविरमा सर्वसाधारणले विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरेका थिए।

स्मृद्धि डेन्टलको प्राविधिक सहयोगमा २५ जनाको दाँत परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो। यस्तै, नवजीवन अस्पतालको प्राविधिक सहयोगमा २८ जनाको सुगर तथा थाइराइड परीक्षण गरिएको थियो।

धनगढी नेत्रालयको प्राविधिक टोलीले ५० जनाको आँखा परीक्षण गरेको थियो। परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामीसमेत पहिचान गरिएको र उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि रेफर गरिएको बैतडी समाजका महासचिव लोकेश भट्टले जानकारी दिए।

१८औँ बृहत् रक्तदान महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वले उत्साहपूर्वक रक्तदान गरेका थिए। आयोजकले रक्तदाताका लागि दिवा भोजको समेत व्यवस्था गरेको थियो।

पहिलोपटक रक्तदान गर्नेहरूलाई थप प्रेरित गर्न पोटली फुड्सको तर्फबाट ५ सय ५१ रुपैयाँ बराबरको कुपनसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस